Media Network

३९ करोडले घट्यो नेपाल टेलिकमको आम्दानी


खबरस्टोरी संवाददाता

२६ कार्तिक २०८०,आईतवार

काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।

उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा ११ अर्ब ४ करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ ।

कम्पनीको कूल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजारको तुलनामा ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा २ अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा  १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा रू ४५.०५ रहेको छ । चालु आवमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोगक रहेको जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद