Media Network

ब्याज र अन्य शुल्क बुझेर मात्र कर्जा सम्बन्धी कारोवार गर्न राष्ट्र बैंकको आग्रह


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७९,मंगलवार

काठमाडौँ।नेपाल राप्ट्र बैंकले ऋणीलाई कर्जा लिँदा कर्जासँग सम्बन्धीत सम्पूर्ण लागत (ब्याज र लाग्ने अन्य विभिन्न सेवा शुल्क) बारे स्पष्ट जानकारी हासिल गरेर मात्र कर्जा उपयोग गर्न आग्रह गरेको छ ।

वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले जारी गरेको सूचनामा कर्जामा लाग्ने ब्याज र अन्य विभिन्न सेवा शुल्कबारे कर्जा लिनुभन्दा अगावै कर्जा दिने संस्थासँग सम्पुर्ण जानकारी बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ । 

कर्जा दिँदा कर्जा व्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरु भुक्तानी गर्नुपर्ने हुने सर्वसाधारणलाई पहिला नै बुझेर मात्र कर्जा कारोबार गर्न अपिल गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्ने बेलामा लाग्ने लागतबारे सम्पूर्ण जानकारी ऋणीलाई नदिँदा कतिपय अवस्थामा ऋणी र बैंक तथा वित्तीय संस्थाबीच ब्याजदर र सेवा शुल्कको विषयमा विवाद उत्पन्न भइरहेको छ । त्यसैले कर्जा लिनुभन्दा अगाडि नै कर्जामा लाग्ने सम्पूर्ण शुल्कबारे जानकारी हासिल गर्न सेवाग्राहीलाई केन्द्रीय बैंकले आग्रह गरेको हो ।

 कर्जा प्रदान गर्ने सम्बन्धित संस्थाको पनि ब्याज र सेवा शुल्कको बारेमा बुझाउनु प्रमुख दायित्व हुने भएकाले सो अनुसार गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्जा प्रवाह गर्ने संस्थाले पनि ऋणीलाई ब्याजदर तथा अन्य शुल्कका बारेमा सरल भाषमा बुझाएर मात्र कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकले आग्रह गरेको छ। वाणिज्य बैंकहरुले कर्जा स्वीकृत गर्दा बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले विसं २०७७ साउनदेखि बैंक तथा वित्तीय संस्थाहरुले लिने शुल्कलाई व्यवस्थित गरेकाले सो भन्दा बढी सेवा शुल्क नलिन नतिर्न समेत सूचित गरेको छ । विसं २०७७ साउनभन्दा अघि सेवा शुल्क लिने अधिकार सम्बन्धित बैंक वा वित्तीय संस्थालाई खुला छाडिएकोमा बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी शुल्क असुल्न थालेपछि विसं २०७७ साउनमा एकरुपमा कायम गर्न राष्ट्र बैंकले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद