Media Network

काठमाण्डौं महानगरपालिकाद्वारा २ सहकारी संस्था खारेज


खबरस्टोरी संवाददाता

४ भाद्र २०८०,सोमबार

काठमाण्डौं। काठमाण्डौँ महानगरपालिकाले महानगरभित्रका २ वटा सहकारी संस्था खारेज गरेको छ । महानगरपालिकाले आज सोमबार एक सूचना प्रकाशित गर्दै महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका दुइ वटा सहकारी संस्था खारेज गरेको जनाएको हो ।

खारेज हुनेमा चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरुको दर्ता खारेजी गरिएको महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

उक्त ऐनका अनुसार ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।

महानगरले यसअघि असार २२ गते एक सूचना प्रकाशित गरी उक्त संस्थाले तिर्नुपर्ने दायित्त्व र उठाउनुपर्ने ऋण सहित बक्यौता केही भएमा १५ दिनभित्र यस विभागमा सम्पर्क राख्न आग्रह गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद