Media Network

लक्ष्यभन्दा ३९ अर्ब कम राजश्व उठेपछि दबाबमा अर्थमन्त्री


खबरस्टोरी संवाददाता

३ आश्विन २०८०,बुधबार

काठमाडौं । भन्सार विभाग र आन्तरिक राजश्व विभाग दुवै राजश्व संकलनमा असफल भएका छन् । चालु आर्थिक वर्षको पहिलो २ महिनामा गत वर्षको सोही अवधीको भन्दा पनि कम राजश्व उठेपछि करका दुवै असफल भएका विभाग असफल बन्न पुगेको हो।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सरकारले १ खर्ब ७३ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, आन्तरिक राजश्व विभागले भन्सार विभागले मुस्किलले १ खर्ब ३४ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन गर्न सकेका छन् । यो सरकारले तय गरेको लक्ष्यभन्दा ३९ अर्ब अर्थात २२.५२ प्रतिशतले कम हो ।

सरकारले भदौसम्ममा आन्तरिक राजस्व विभागका लागि ८४ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । तर, विभागले जम्मा ६६ अर्ब १९ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ । गत वर्ष गत आर्थिक वर्षको भदौ मसान्तसम्म विभागका लागि ७५ अर्ब ६० करोड रुपैयाँ राजस्व लक्ष्य दिइएको थियो जसमा विभागले ६७ अर्ब ९१ करोड रुपैयाँ उठाएको थियो। यसपाली भने विभागले गत आवको भदौ मसान्तको भन्दा पनि १ अर्ब ७२ करोड रुपैयाँ अर्थात २.५३ प्रतिशतले कम राजश्व मात्रै उठाउन सकेको हो ।

यसपाली आन्तरिक राजश्व विभागले लक्ष्यभन्दा १७ अर्ब ८६ करोड रुपैयाँ अर्थात २१.२४ प्रतिशतले कम राजश्व उठाएको हो । भन्सार विभागले पनि भदौसम्ममा ८९ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । तर त्यसमा विभाग जम्मा ६७ अर्ब ९५ करोड रुपैयाँ मात्रै उठाउन सफल भयो । गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा भन्सार विभागले ९० अर्ब २८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा ६७ अर्ब ४२ करोड रुपैयाँ मात्रै उठाउन सकेको थियो । यसपाली भने भन्सारले ५३ करोड अर्थात ०.७७ प्रतिशतले बढी राजश्व उठाएको छ । तर यो चालु आर्थिक बर्षका लागि तोकिएको लक्ष्यभन्दा २१ अर्ब १५ करोड रुपैयाँ अर्थात २३.७३ प्रतिशतले कम हो ।

दबाबमा अर्थमन्त्री डा. महत

पहिलो दुई महिनामै राजश्व संकलन लक्ष्यभन्दा ३९ अर्बले कम भएपछि अर्थमन्त्री डा. प्रकाश करण महत दबाबमा परेका छन् । कांग्रेस पृष्ठभूमिका शोभाकान्त पौडेललाई डा. महत आफैंले भन्सार विभाग पठाएका हुन् । यसअघि नै आन्तरिक राजश्व विभागको महानिर्देशक भइसकेका पौडेलले भन्सार प्रशासन सुधार, चुहावट नियन्त्रण र राजश्व संकलनमा राम्रो काम गर्ने अपेक्षा गरिएको थियो । तर, उनको कार्य सम्पादन पनि गतिलो नदेखिएपछि विकल्प खोज्नुपर्ने दबाबमा अर्थमन्त्री पुगेको स्रोतले बतायो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद