धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख १४ हजार ८०० जनाले मात्र गोलाप्रथाबाट सेयर हात पारका छन् । आईपीओमा आवेदन दिएका कुल योग्य आवेदक १२ लाख ७४ हजार ५६७ मध्ये ११ लाख ५९ हजार ७६७ आवेदकको हात खाली भएको छ ।
बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार सर्वसाधारणबाट माग भएको सेयर खरिदका संख्याको १२.६७ गुणा बढीको उच्च आवेदन परेका थियो । सार्वजनिक निष्कासनमा आईपीओ खरिदका लागि १३ लाख ४० हजार १९९ वटा आवेदनबाट १ करोड ४५ लाख४० हजार ३१० कित्ताको माग परेको थियो । जसमध्ये ६५ हजार ६३२ वटा आवेदनबाट माग भएको ९ लाख ३५ हजार ४०० कित्ताको आवेदन रितपुर्वक नपरेका कारण रद्द भएको हो ।
मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। भने दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।