Media Network

मर्जरमा जान बीमा कम्पनीहरुको होडबाजी, १७ कम्पनीले गरे सम्झौता


खबरस्टोरी संवाददाता

३२ असार २०७९,शनिबार

काठमाडौ । यतिबेला बीमा कम्पनीहरूबीच भटाभट मर्जर (गाभिने) तथा एक्विजिसनमा जाने होडबाजी नै चलेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुलाई मर्जरमा जान बाध्यात्मक अवस्था आइपरेको हो ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । 

समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।

कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिको योजना पनि पेश गरिसकेका छन् । कम्पनीहरूले पुँजी वृद्धिका लागि हकप्रद र मर्जर तथा प्राप्ति लगायत विकल्पहरू अगाडि सारेका छन् ।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेको छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पु¥याइ सक्नुपर्नेछ ।

१७ बीमा कम्पनीद्वारा मर्जरका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जसमा ८ निर्जीवन र ९ जीवन बीमा कम्पनीहरु रहेका छन् ।

निर्जीवन बीमातर्फ 

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स, 

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल

सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्स

बीच प्रारम्भिक मर्जर सम्झौता भइसकेको छ ।

यस्तै, हिमालयन जनरल र एभरेष्टले आगामी आइतवारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

जीवन बीमातर्फ 

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स

सूर्या लाइफ र ज्योति लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लगायत छन् । 

यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफले पनि मर्जरमा जाने निर्णयमा पुगेका हुन् । नेपालमा २० निर्जीवन बीमा र १९ जीवन बीमा गरी कुल ३९ वटा कम्पनीले बीमा व्यवसाय गर्दै आएका छन् ।

हालसम्म सम्झौता वा समझदारीपत्रमा हस्ताक्षर गरेका कम्पनीहरू मर्ज भइसकेपछि जीवनतर्फ ४ र निर्जीवनतर्फ ४ कम्पनीको संख्या घट्ने छ । सहमति वा सम्झौता गरिसकेका कम्पनी गाभिएपछि निर्जीवनतर्फ १६ र जीवनतर्फ १५ गरी ३१ वटा कायम हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद