Media Network

नेपाल र भारतकाे संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०८०,बिहीबार

काठमाडौं ।  भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको बताएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले मल उद्योग खोल्ने प्रोजेक्टलाई सफल बनाउन नेपालबाट आवश्यक सहयोग अगाडि बढेको बताएका हुन्।

‘भेटघाटको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा मल उद्योग सञ्चालन गर्नेबारे छलफल भएको छ । यसलाई सफल बनाउन नेपालबाट आवश्यक सहयोग प्राप्त हुनेछ’, उनले भने ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालमा मल उद्योग खोल्न भारत सहमत भएको जानकारी दिएका थिए ।

प्रचण्डले आजादीको अमृत वर्षको उपलक्ष्यमा भारतलाई बधाई ज्ञापन गर्दै भारतले हाल प्राप्त गरेको आर्थिक विकास, पूर्वाधार विकास, गरिबी न्यूनीकरण तथा सामाजिक सुरक्षा स्किम नेपालका लागि पनि अवसरको रुपमा रहेको बताए ।

उनले सन् २०२६ सम्म न्यून विकास भएका देशबाट स्तरोन्नति गर्ने नेपालको लक्ष्य हासिल गर्न पनि नजिकको छिमेकीको हैसियतले भारतको साथ र सहयोग आवश्यक रहेको बताए ।

यस भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप चलायमान हुने विश्वास गरेको प्रचण्डको भनाइ छ । यसबाहेक न्यानो फर्टिलाइजर प्रविधि तथा नेपालमा कृषि क्षेत्रको विकासलाई लिएर प्रधानमन्त्री मोदीले देखाएको चासोले आफू र समग्र नेपालीहरुलाई आशावादी बनाएको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद