Media Network

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि खुल्यो बाटो


खबरस्टोरी संवाददाता

१४ बैशाख २०८०,बिहीबार

काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो ।

नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएको हो । नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक पेस गर्नुपर्नेछ । प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ ।

विभागले यही वैशाख १३ गते निर्देशिका परिवर्तन गर्ने निर्णय गरेकामा आज सोसम्बन्धी सूचना सार्वजनिक गरेको हो । निर्देशिकाको बुँदा नं ११।१ अन्तर्गत नयाँ बुँदा ११।१।९ थप गरी उल्लेखित विषय संशोधन गरिएकोे जनाइएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद