Media Network

नेप्से ९ अंकले बढ्यो


खबरस्टोरी संवाददाता

१७ श्रावण २०८०,बुधबार

काठमाडौं । उतारचढावका बीच सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित होटल तथा पर्यटन, विकास बैंक र वित्त कम्पनी लगायका उपसूचकमा वृद्धि भएको छ । जसले गर्दा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचकमा गिरावट भएपनि नेप्सेमा वृद्धि भएको हो । वित्त कम्पनी उपसूचक १.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.४० प्रतिशत, विकास बैंक उपसूचक १.०१ प्रतिशत र वाणिज्य बैंकहरुको बैंकिङ उपसूचक ०.८१ प्रतिशतले बढेको छ ।

लघुवित्त उपसूचक ०.२८ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

लगानीकर्ता वित्तीय विवरणको पर्खाइमा रहँदा कारोबार रकम पनि सुस्ताएको छ । मौद्रिक नीतिमा सेयर लगानीकर्ता सेयर धितो कर्जाको जोखिम भारको भ्रममा पर्दा नेप्से ७ साउनमा ६३ अंकले बढेपछि त्यसयता लगातार घट्दै गएको थियो । ८ साउन देखिएको कारोबारमा नेप्सेमा करिब १५० अंकले गिरावट भएर बुधबार भने सामान्य वृद्धि देखिएको छ । तर, ७ साउन र ८ साउनमा ४ अर्ब माथिको कारोबार भएको थियो भने त्यसपछि काारेबार रकम ३ अर्ब २ अर्ब हुँदै लगातार बुधबार तेस्रो दिन पनि २ अर्बबाट तल झरेको छ । सोमबार १ अर्ब ८५ करोडको कारोबार भएको बजारमा मंगलबार १ अर्ब ९१ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा ३५ हजार ८३५ वटा कारोबारमा ९३ लाख ६१ हजार ७८६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८१ करोड २५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ११ करोड १९ लाखको कारोबार भएको छ ।

त्यस्तै सानिमा बैंकको संस्थापक सेयर प्रतिकित्ता १५० रुपैयाँमा ८ करोड ८९ लाख ३७ हजार ७५० रुपैयाँको कारोबार भएको छ । प्रोग्रेसिभ फाइनान्सको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ८१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १९ कम्पनीको स्थिर छन् । बुधबार कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सर्वाधिक ४.०३ प्रतिशतले बढेको छ । बैंकले राम्रो वित्तीय विवरण प्रकाशित गर्ने अपेक्षमा लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएका हुन् । यस्तै सिंगटी हाइड्रोपावरको सेयरमूल्य ३.८९ प्रतिशशतले बढेको छ । यता सामूहिक लगानी योजनामा आरबीबी म्युचुअल फण्ड १ को इकाइमूल्य ४.१४ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ३.८९ प्रतिशतले बढेको छ ।

बुधबार प्रभु स्मार्ट फण्डको इकाइमूल्य भने १० प्रतिशतले गिरावट भएको छ । एनआईबीएल समृद्धि फण्डको इकाइमूल्य ४.५८ प्रतिशतले गिरावट भएको हो । सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ४.०५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद