Media Network

नेप्सेमा २७ अंकको वृद्धि


खबरस्टोरी संवाददाता

१ पुष २०८०,आईतवार

काठमाडौँ । लामो समयदेखि १९०० अंकमा झुण्डिएरबसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार अंकमाथि पुगेको छ ।आज परिसूचक २७ अंकले बढ्दै २ हजार २२ अंकमा पुगेर रोकिएको हो ।
नेप्से परिसूचक ३२ सयको अंकमा पुगेर फर्किएपछि लामो समयसम्म १८०० र १९०० आसपास घुमेर बसेको थियो । बीचमा एकाध पटक २२ सय अंक छोए पनि लामो समय टिक्न सकेको थिएन । तर, लामो समयपछि उत्साहजनक वृद्धि लिँदै २ हजार अंकको लाइन पार गरेको हो । आज परिसूचक संगै कारोबार रकम समेत उत्साहजनकरुपले बढेको छ ।
परिसूचकमा सुस्तता आउँदा कारोबार रकम समेत १ अर्बभन्दा तल कायम रहँदै आएको थियो । आज भने ५ अर्ब १५ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । आज १ करोड ७१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा धेरैको कारोबार भएको हो । परिसूचक २७ अंकले बढ्दा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि हुँदा ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, १६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ । समग्रमा आज १८५ वटा कम्पनीको सेयर मूल्यले उकालो यात्रा तय गरेको छ । यसक्रममा आज हिमाल दोलखा हाइड्रोपावरको सेयर २५ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर समेत १६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । परिसूचक बढेपनि आज बैंक, व्यापार र म्यूचुअल फण्ड समूहको सूचक घटेको छ । बैंक ८.११ अंकले र म्यूचुअल फण्ड समूहको सूचक ०.०७ अंकले खुम्चिएको छ । यस्तै, व्यापार समूहको सूचक ६.७५ अंकले घटेको छ । यसबाहेक, जलविद्युत समूहको सूचक १२३ अंकले बढ्दा निर्जीवन बीमा समूहको सूचक ११२ अंकले बढेको छ ।
यस्तै, विकास बैंक समूहको सूचकमा १०४ अंकको वृद्धि हुँदा होटल र टुरिजम समूहको सूचक ८७ अंकले बढेको छ । यसबाहेक, उत्पादनमूलक समूहको ४९ अंक, लघुवित्त समूह ४० अंक, वित्त समूहमा ३२ अंकको वृद्धि आएको छ भने अन्य समूह ३१ अंक र जीवन बीमा समूह २४ अंकले बढेको छ । यस्तै, लगानी समूहमा समेत २.२२ प्रतिशतको वृद्धि आएको छ ।
नेपाल राष्ट्र बैंकले अघिल्लो साताको शुक्रबार मौद्रिक नीति समिक्षा गर्दै लचिलो नीति लिएपछि बजारमा एकाएक उत्साह देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक दर लगायत घटाएको छ । यसबाट बजारमा ब्याजदर घट्ने र अर्थतन्त्र चलायमान बन्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाइसकेका छन् । गत साताको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन परिसूचक बढेको थियो । यस्तै, गत सातभर साढे १६ अर्ब हाराहारीको कारोबार भएकोमा यो साताको पहिलो कारोबार दिन नै ५ अर्बको कारोबार भएको नेप्सेले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद