Media Network

पहिलो चौमासिकमा लक्ष्य भन्दा ३०% कम राजश्व संकलन


खबरस्टोरी संवाददाता

३ मंसिर २०८०,आईतवार

कठमाडौं । चालु आर्थिक बर्षको  पहिलो चौमासिकमा सरकार राजश्व संकलनमा पुरै असफल भएको छ। चाडपर्व समेत पर्ने पहिलो चौमासिकमा सरकारको राजश्व संकलन नाजुक अवस्थामा पुगेको हो । सरकारले कात्तिक मसान्त भित्र ३ खर्ब ८४ अर्ब २९ लाख रुपैयाँ राजश्व उठाउने भनेको थियो । तर यो अवधीमा सरकारको राजश्व जम्मा २ खर्ब ७६ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ मात्रै संकलन भएको छ । संकलित राजश्व लक्ष्यको तुलनामा एक खर्ब ७ अर्ब ३६ करोड ३० लाख अर्थात २७.९५ प्रतिशतले कम हो ।
सरकारले चालु आर्थिक बर्षमा जम्मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । सरकारले कात्तिकसम्मका लागि भन्सार विभागलाई एक खर्ब ९७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो भने आन्तरिक राजश्व विभागलाई एक खर्ब ५७ अर्ब ९ करोड ४१ लाख रुपैयाँको लक्ष्य दिएको थियो । सरकारले गैरकर राजश्व भने २९ अर्ब ५९ करोड ३ लाख रुपैयाँ उठाउने भनेको थियो ।
तर यो अवधीमा भन्सार विभागले लक्ष्य भन्दा ३६.०४ प्रतिशतले कम मात्रै राजश्व उठाउन सकेको छ । कात्तिक मसान्तभित्र एक खर्ब ९७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य पाएको भन्सार विभागले जम्मा एक खर्ब २६ अर्ब ८५ करोड ४ लाख रुपैयाँ मात्रै राजश्व उठायो, जुन लक्ष्य भन्दा ३६.४ प्रतिशतले कम हो ।
उता, आन्तरिक राजश्व विभागले पनि लक्ष्य भन्दा १८.८७ प्रतिशतले कम राजश्व उठाएको छ । कात्तिक भित्र आन्तरिक राजश्व विभागलाई एक खर्ब ५७ अर्ब ९ करोड ४१ लाख राजश्व उठाउने जिम्मा थियो । तर यो विभागले पनि लक्ष्य भन्दा १८.८७ प्रतिशतले कम मात्रै राजश्व उठाउन सफल भएको देखिन्छ । कात्तिक भित्र २९ अर्ब ५९ करोड ३ लाख रुपैयाँ गैरकर राजश्व उठाउने भनेको सरकारले जम्मा २२ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ मात्रै उठाएको छ । जुन लक्ष्यको तुलनामा ७ अर्ब २५ करोड २७ लाख रुपैयाँ अर्थात २४.५० प्रतिशतले कम हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद