Media Network

प्रिमियम कोषको रकम लाभांश बन्दा चुक्ता पुँजी पुर्‍याउन बीमा कम्पनीलाई थप सहज


खबरस्टोरी संवाददाता

२० मंसिर २०८०,बुधबार

काठमाडौं । प्रिमियममा आइपिओ जारी गरेका बीमा कम्पनीहरूले प्रिमियम बापत आम्दानी भएको रकम चुक्ता पुँजीमा जोड्न पाउनेसँगै बिमा कम्पनीहरूलाई चुक्ता पुँजी पु¥याउन सहजता प्रदान भएको छ।  बिमा कम्पनीहरूलाई चुक्ता पुँजी पु¥याउन सहजता प्रदान  गर्ने हेतुले नेपाल बिमा प्राधिकरणले यस्तो नीति अगाडी सारेको हो।

प्रिमियममा सेयर जारी गरेका कम्पनीले प्रिमियम बापत भएको आम्दानी (किताबी मूल्य १०० भन्दा माथिको) रकम छुट्टै कोष बनाई राखेका छन् । सो रकम अब लाभांश (बोनस सेयर) मार्फत लगानीकर्तालाई बाँडेर पुँजी बढाउन पाउने व्यवस्था प्राधिकरणले गरेको हो । प्राधिकरणले यसअघि बीमा कम्पनीहरूलाई पुँजी बढाउन हकप्रद ल्याउन दिने व्यवस्था पनि गरिसकेको छ । 

पछिल्लो नीतिअनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँमा न्यूनतम नियामकीय चुक्ता पुँजी कायम गर्नुपर्नेछ । तर, अझै धेरै कम्पनीले त्योअनुसार चुक्ता पुँजी बढाउन सकेका छैनन् । पटक–पटक समय थप गर्दा पनि बीमा कम्पनीहरूले चुक्ता पुँजी बढाउन सकेका छैनन् । त्यस क्रममा प्राधिकरणले प्रिमियम मार्फत आएको पैसालाई चुक्ता पुँजीमा थप्न मिल्ने व्यवस्था गरेको हो ।

हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ शेयर निष्कासन गरेका छन् । त्योअनुसार पछिल्लो नीति उक्त  कम्पनीहरूलाई पुँजी बढाउन सहज हुने देखिन्छ । 

हाल ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन लाइफको प्रिमियम कोषमा १ अर्ब ५५ करोड रुपैयाँ पैसा छ ।  हाल ४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आइएमई लाइफको प्रिमियम कोषमा भने १ अर्ब ५३ करोड रुपैयाँ पैसा छ । ४ अर्ब नै चुक्ता पुँजी रहेको रिलायवल नेपालको प्रिमियम कोषमा पनि १ अर्ब ७५ करोड रकम छ ।

यसै गरी हाल ३ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सन नेपालको प्रिमियम कोषमा १ अर्ब ८० करोड रुपैयाँ रकम छ । अब उक्त कम्पनीहरूले प्रिमियम कोषमा रहेको पैसा लाभांश (बोनस) शेयर मार्फत चुक्ता पुँजीमा थप गर्न सक्नेछन् । 

हाल नेपालमा १४/१४ वटा निर्जीवन तथा निर्जीवन बीमा कम्पनी छन् । त्यसमा जीवन बीमा तर्फ नेपाल लाइफ, हिमालयन  र नेशनल लाइफको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । यसै गरी निर्जीवन तर्फ प्रिमियर, सगरमाथा लुम्बिनी, शिखर र आईजीआई प्रुडेन्सियलले तोकिएअनुसार पुँजी पुराइसकेका छन् । यसबाहेक अन्य कम्पनीको चुक्ता पुँजी पुग्न बाँकी छ ।

यसअघि जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँको न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो । तर, प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने गरी नयाँ निर्णय गरेको थियो । त्यसपछि पुँजी बढाउन थुप्रै बीमा कम्पनी मर्ज समेत भइसकेका छन् । तर, पनि अधिकांश कम्पनीको चुक्ता पुँजी बढ्न सकेको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद