Media Network

प्राधिकरणले ३२ हाइड्रोपावरलाई पीपीए गर्न बोलायो (सूचीसहित)


खबरस्टोरी संवाददाता

१८ आश्विन २०८०,बिहीबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १६ सय ४१ मेगावाट क्षमताका ३२ वटा जलविद्युत आयोजनालाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न बोलाएको छ ।

बुधबार आयोजनाका सूची सार्वजनिक गर्दै प्राधकिरणले ३२ वटा आयोजनाको १६ सय ४१ मेगावाटका परियोजनासँग पीपीए गर्न माग गरेको कागजात सहित बोलाएको हो ।

प्राधिकरणले मंगलबार पीपीए गर्न आयोजनाहरुलाई ३५ दिन समय तोकेर बोलाएको थियो । बुधबार भने प्राधिकरणले १६ सय ६५ मेगावाट उत्पादन क्षमताका ३५ आयोजना मध्ये २३.६२ मेगावाट क्षमताका तीनवटा आयोजनाको पीपीएको फाइल स्वीकृत गरेको छ ।

प्राधिकरणका अनुसार विद्युत नियमन आयोगबाट पीपीएको समस्यौदामा सहमति प्राप्त भएर पीपीएमा हस्ताक्षर गर्नका लागि पर्फर्मेन्स, बैंक जमानत र पीपीए शुल्क बुझाउन ११ वटा र स्वीकृत सीमाभित्र परेर पनि रितपूर्वकका कागजात नपुगि पीपीए प्रकृया अघि बढ्न नसकेका २४ वटा आयोजना रहेका छन् । जसमा ७ वटा अर्धजलासय (पीआरओआर)र २८ वटा नदी प्रवाही जलविद्युत (आरओआर) आयोजना रहेका छन् ।

प्राधिकरणका अनुसार १६.६९ मेगावाटको २ वटा आयोजनाको आरओआर र ६.९३ आयोजनाको पीआरओआरको पीपीए फाइल स्वीकृत भएको छ । प्राधिकरणले पीपीपीको फाइल स्वीकृत गरेका आयोजनामा आरओआर अन्तर्गत ४.८९ मेगावाटको चोमरोङ खोला र ११.८ मेगावाटको मिस्त्री खोला–२ आयोजना रहेका छन् ।

यस्तै पीआरओआर अन्तर्गत ६.९३ मेगावाटको लोअर हेवाखोला–ए आयोजना रहेको छ । पीआरओआर अन्तर्गत लोअर हेवाखोला–ए, पीआरओआर आयोजनामा देव ढुंगा चाखु, अप्पर मर्स्याङदी–१, तिला एक, दुई तल्लो चमेलिया र बुढी गण्डकी आयोजना रहेका छन् । बाँकी आरओआर आयोजनाका रहेका छन् ।

प्राधिकरणका अनुसार आरओरको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र पीआरओआरको ४ हजार ५०० मेगावाट रहेको छ । तोकिएको समयमा निवेदन नआएमा, आवश्यक काजगजातहरु÷दस्ताबेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई पीपीएको रोल क्रमबाट हटाइने र रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उक्त सूचना जारी गरेसँगै कतिपय आयोजनाका प्रवर्धकहरु कन्सल्टेन्ट खोज्दै हिँडेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद