Media Network

पर्यटकको लागि प्रमुख गन्तव्य नेपाल, एक महिनामै भित्रिए एक लाख १७ हजार पर्यटक


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०८०,बिहीबार

काठमाडौं ।सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म पर्यटनको लागि नेपाल प्रमुख गन्तव्य हो । यस सिजनको अक्टोबर महिनामा पर्यटक आगमनले नेपालमा नयाँ रेकर्ड कायम चुमेको छ।

सन् २०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सन् २०१९ अक्टोबरमा १ लाख १३ हजार ८१६ विदेशी पर्यटन नेपाल आएका थिए । २०२२ को सोही महिना ५२ हजार १२१ पर्यटक आएका थिए भने २०२३ मा १५ हजार ७१५ र २०२० मा १ हजार ८३१ पर्यटनले नेपाल भ्रमण गरेका थिए । 

सन् २०२३ को अक्टोबर महिनामा सबैभन्दा बढी भारतबाट पर्यटक आएका छन् । जहाँबाट अक्टोबरमा १८ हजार ४८० पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, अमेरिकाबाट १४ हजार ८७९ जना आउँदा बेलायतबाट ८ हजार २१७ आएका छन् । 

चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ०७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल भित्रिएका छन् । 

पर्यटनको सिजनको सुरुवाती समय रहेकाले अझै पर्यटक भित्रिने क्रम बढ्ने अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले पछिल्लो समय पर्यटक आगमनको सङ्ख्या बढ्दो क्रममा रहेको बताए । उनले भने, ‘कोरोना महामारीले खस्किएको यो क्षेत्र विस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय पर्यटक आगमनको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । ’   

विभागका अनुसार सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरिदेखि अक्टोबरसम्म अर्थात् यो दश महिनाको अवधिमा ८ लाख ९ हजार ६८१ पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भित्रिएका थिए । त्यसयता विदेशी पर्यटक आउने सङ्ख्या बढ्दै गएको तथ्यांकमा देखिन्छ । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी सङ्ख्यामा पर्यटक नेपाल आएका थिए । यस फेब्रुअरी महिनामा ७३ हजार २५६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

त्यस्तै, मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस महिना ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । मार्च पछि अप्रिल महिनामा पनि पर्यटक आगमन उत्साहजनक नै देखिएको छ । अप्रिल महिनामा ९८ हजार सात सय ७४ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

मे महिनामा  ७७ हजार ७०४ पर्यटक नेपाल भित्रिएका थिए भने जुन महिनामा ७२ हजार २५० जना आएका थिए । यस्तै, जुलाई महिनामा ५७ हजार ७२२ पर्यटक नेपाल भित्रिएका थिए ।

जुलाइमा भन्दा अगष्टमा पर्यटक आगमनको सङ्ख्या १० हजारले बढी रहेको छ । यस महिना ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । विदेशी पर्यटक आगमनको सङ्ख्या सेप्टेम्बर महिनामा पनि ह्वात्तै बढेको छ । यस महिना ९१ हजार १२ पर्यटक नेपाल भित्रिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद