Media Network

पेय पदार्थको मूल्यवृद्धि १४ प्रतिशत नाघ्यो


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १४ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत पुगेको देखिएको हो । 

त्यस्तै, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । 

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ । २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो ।  

२०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । २०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद