Media Network

रिलायबल नेपाल लाइफको आईपीओ आजदेखि बिक्रीमा


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । 

सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २५७ रूपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियम वापत १५७ रूपैयाँ थप गरेको हो । 

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै बिक्री गर्ने जानकारी दिएको छ । यी वाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि छिटो अवधि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ ५ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्ययम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीकोे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिनेछ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल भदौ १६ गतेदेखि यस कम्पनीले व्यवसाय सुरु गरेको हो । यस कम्पनीमा तत्कालिन रिलायबल डेभलपमेन्ट बैंक , साविक सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठि उद्योगी, व्यवसायी, बैंकर, अर्थशास्त्री लगाएतको लगानी रहेको छ । रजिष्टर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा रहेको कम्पनीले हाल ८२ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक विवरण अनुसार कम्पनी ७३ करोड ९१ लाख रूपैयाँ सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २४ रूपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रूपैयाँ २९ पैसा रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले १ अर्ब रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद