Media Network

सिजी औद्योगिक पार्कमा बनेको शाश्वत धामको कथा


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७८,बुधबार

देवचुली (नवलपुर) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका २ दुम्कौलीमा सिजी शाश्वत धाम छ । कलापूर्ण मन्दिरले सजिएको उक्त धाम अहिले धार्मिक तिर्थस्थल मात्र नभई टिकटक रमाउने युवायुवतिको गन्तब्यस्थल नै बनेको छ । 

ब्यापारिक घराना विनोद चौधरीले आफ्ना पिता लुंकरणदास चौधरीको हातबाट वि.सं. २०५९ फागुनमा शिलान्यास गरि निर्माण शुरु गरिएको धाम २०७३ फागुन २४ राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् । 

करिब ८० बिगाहा क्षेत्रफलमा फैलिएको चौधरी उद्योग क्षेत्रमा सात बिगाहा भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको सिजी औद्योगिक पार्कमा नै अहिले सिजी शाश्वत धाम निर्माण गरिएको स्थानीय बताउँछन् ।   

सार्वजनिक जग्गा अतिक्रमण नगर्न स्थानीय सरकारले पटक पटक आग्रह गरे पनि उद्योगले अटेरी गर्दै आएको छ ।

ब्यापारिक घराना विनोद चौधरीले आफ्ना पिता लुंकरणदास चौधरीको हातबाट वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरि निर्माण शुरु गरिएपछि फेरि पनि सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै त्यसो नगर्न स्थानीयबासीले पटक पटक आग्रह गरे । तर चौधरीले स्थानीयबासी तथा जनप्रतिनितिको बिरोधको बेवास्ता गर्दै मन्दिर निर्माण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मन्दिर उद्घाटन गराएका थिए ।

चौधरी उद्योग र शाश्वत धाम रहेको उत्तरपश्चिमतर्फको कर्कदह खोलासमेत मासेर ६ विगाहा भन्दा बढी जग्गा अतिक्रमण गरी पर्खाल निर्माण भएको देवचुली नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपालराज लम्सालले बताए ।

‘हामी निर्वाचित भएर आएपछि पनि सार्वजनिक जग्गा अतिक्रमण र प्रदुषणकाबारेमा उद्योग प्रशासनसँग छलफल गर्यौं,’ लम्सालले भने, ‘तर हामीसँग गरेको प्रतिवद्धता कुनै पनि पूरा भएन ।’

देवचुली २ का वडाध्यक्ष माधव केसीले पनि आफूले पटक पटक पहल गरे पनि सुनुवाइ नभएको बताए । ‘नगरपालिकाको वडा कार्यालयका लागि जग्गा नभएकाले उपलब्ध गराउन आग्रह गरियो, वडाध्यक्ष केसीले भने, ‘खेलकुद मैदान नभएकाले जग्गा उपलब्ध गराइदिन पनि आग्रह गर्यौं, तर वास्ता भएन ।’

मन्दिर प्रवेशद्वारभित्र खोलाको सार्वजनिक जग्गामा दुई तले पक्की भवन निर्माण गरिएको छ भने कर्कदह खोला पूरै अतिक्रमण गरी ठूलो बुद्धको मुर्ति निर्माण गरिएको  छ ।

जनप्रतिनिधि भन्छन्– सिजीमा किला गाड्न सकिएन

उद्योग सञ्चालनार्थ जग्गा खरिद गर्दा भोगचलन गर्दै आएको जग्गा किनेको उद्योग प्रशासनले दाबी गर्ने गरेको जनप्रतिनिधिहरु बताउँछन् । नगरका अन्य विभिन्न ठाउँमा पनि सार्वजनिक जग्गा अतिक्रमण भएकोले नगरपालिकाले पत्र काटेर विभिन्न ठाउँमा किला गाड्ने काम गरे पनि सिजीमा किला गाड्न नसकिएको वडाध्यक्ष लम्साल स्वीकार्छन् ।

देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले पनि सिजीले अतिक्रमण गरेको ठाउँमा अमिनसमेत लैजान नसकिएको स्वीकार गरे । आफूले उद्योग प्रशासनलाई पटकपटक अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको मेयर श्रेष्ठले बताए । सार्वजनिक जग्गा अतिक्रमण गर्न कसैले पनि नमिल्ने भन्दै स्थानीयले साथ दिनुपर्ने उनले उल्लेख गरे ।

चौधरी ग्रामको नाममा सञ्चालनमा रहेको क्षेत्र विद्यमान वातावरण ऐनविपरीत रहेको वन मन्त्रालयको समेत ठहर छ ।

नाक थुनेर हिड्नुपर्ने अवस्था

चौधरी उद्योगले सार्वजनिक जग्गा अतिक्रमण मात्रै गरेको छैन, प्रदुषण पनि उस्तै छ । उद्योगबाट निस्कने दुर्गन्धित पानीको कारण नाक छोपेर हिड्नुपर्ने बाध्यता रहेको स्थानीय युवराज वाग्ले बताउँछन् । 

उद्योगले वातावरण प्रदुषण गरेपछि जनप्रतिनिधि चयन हुनुभन्दा अगाडि खेमराज पौडेलको संयोजकत्वमा एकीकृत दिब्यपुरी वातावरण प्रदुषण नियन्त्रण समिति गठन भयो । उक्त समितिले उद्योग प्रशासनसँग प्रदुषण नियन्त्रण लगायतका विषयमा लिखित प्रतिवद्धता गराए । ‘त्यतिबेला उद्योगले फाल्ने फोहर पानीलाई पिउनयोग्य बनाउनेसमेत प्रतिवद्धता जनाएको थियो, तर अहिले पनि हामी नाक थुनेर हिड्नुपर्ने अवस्था छ ।’ उक्त वातावरण समितिका सदस्य समेत रहेका वाग्लेले भने ।

शाश्वत धाममै प्रदुषण

उद्योगबाट निस्कने फोहरले स्थानीयलाई त दुर्गन्धित पारेको छ नै । मन्दिर आउने लाखौं भक्तजनहरु पनि नाक छोपेर हिड्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

वातवरणीय दृष्टिकोणले अनुपयुक्त रहेको शाश्वत धामलाई सरकारले ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’को रूपमा अवार्डसमेत दिइसकेको छ ।

धामको सबैभन्दा आकर्षण मानिने एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । त्यहि मन्दिरको चारैतिर निर्माण गरिएको तालमा राखिएको पानीको फोहोराले सुन्दरता त दिएको छ, तर दुर्गन्ध भने रोकिएको छैन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद