Media Network

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीप शुरु, शिर्ष खेलाडीको शुरुवाती अग्रता


खबरस्टोरी संवाददाता

२० कार्तिक २०७९,आईतवार

काठमाडौं।नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ,  क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुईदुई अंकका साथ अग्रता लिन सफल भए ।

च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुर जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे । त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए । रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथी जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् ।

पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ । नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडी हरुलाई मध्येनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्ड समेत प्रयोगमा ल्याएको छ । 

सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैंया रहेको छ । स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्र्तगत आईतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद