Media Network

सन नेपाल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

४ भाद्र २०८०,सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि भदौ ४ गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो ।

भदौ ३ गतेसम्म १२ लाख २१ हजार १४२ जना आवेदकहरूले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ता आईपीओ खरीद माग गर्दै आवेदन दिएका छन् । जुन मागभन्दा करिब २ गुणा आवेदन हुन आउछ । कम्पनीले सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो । यी वाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याईएको हो । कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै रहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद