Media Network

विमानस्थल सञ्चालनको १३ महिनापछि नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा व्यावसायिक उडान सुरु


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०८०,मंगलवार

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ ।

एक वर्षअघि काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आज पहिलो पटक मलेसियाबाट यहाँ उडान भरेको हो ।मलेसियाको क्वालालम्पुरबाट आएको ९ एन ए केएक्स विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवा विमानस्थलमा स्वागत गरेका छन् ।

आज बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा आएको निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी बिमान अवतरण गरेको थियो ।०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै थियो ।

जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुवै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद