Media Network

शेयरको लकइन अवधिबारे धितोपत्र बोर्डको नयाँ निर्देशन


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज लि.मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन अवधिसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लि र सबै सूचीकृत संगठित संस्थालाई बोर्डले लक इन पिरियड कार्यान्वयनबारे नयाँ निर्देशन दिएको हो ।
सेबोनले लक इन अवधि सम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरूलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यबस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएको जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम व्यवस्था गर्न गराउन नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र सम्पूर्ण सूचीकृत संगठित संस्थाहरूलाई निर्देशन दिइएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिएका हुन्‌ ।
बोर्डको निर्देशनअनुसार अब सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको बिक्री गर्ने नपाइने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० (तीस) दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्नेछ ।
शेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कूल शेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरूपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, सो को जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफनो वेवसाईटमा समेत राख्न सेबोनको निर्देशन छ ।
सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात्‌ नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.ले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेवसाईटमा राख्न पनि सेबोनले निर्देशन दिएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद