Media Network

त्रिभुवन विमानस्थलको यात्रु आवागमनमा कीर्तिमान, अन्तर्राष्ट्रिय यात्रुको संख्या ४५ लाख नाघे


खबरस्टोरी संवाददाता

२९ पुष २०८०,आईतवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो एक वर्ष करिब ८७ लाख यात्रुलाई सेवा दिएको छ ।
विमानस्थलबाट भएको यो यात्रु सेवा अहिलेसम्मकै उच्च हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले क्लिकमाण्डुलाई उपलब्ध गराएको एक तथ्यांक अनुसार गत वर्ष सन् २०२३ मा ८६ लाख ९१ हजार ४६३ यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरि विभिन्न गन्तव्य गएका छन् ।
तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशीने यात्रु मात्रै २४ लाख २० हजार ७८७ रहेका छन् । यसैगरी यो विमानस्थल हुँदै भित्रने अन्तर्राष्ट्रिय यात्रु २१ लाख २० हजार ३५० रहेका छन् । समग्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आउने र जाने अन्तर्राष्ट्रिय यात्रुको संख्या ४५ लाख नाघेको छ ।
यो तथ्यांक गत वर्ष २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढेको र कोभिड १९ अघि २०१८ को भन्दा ४.५ प्रतिशतले उकालो लागेको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्याले रेकर्ड कायम गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबावु तिवारीले बताए ।
उनका अनुसार उडान अवतरण पनि गत वर्षको भन्दा २९.४० प्रतिशतले बढेको छ । यो वर्ष ३१ हजार ४६० अन्तर्राष्ट्रिय उडान भएका छन् । यस्तो उडान संख्या भने कोभिड अगाडि सन् २०१८ को भन्दा १०.७६ प्रतिशतले घटि हो ।
तिवारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण अघिल्लो वर्ष २०२२ को तुलनामा ९.२ प्रतिशतले बढेको छ । सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७९ लाख ५४ हजार ४९५ यात्रु आवागमन गरेकामा यो वर्ष ८६ लाख ९१ हजार पुग्नु भनेको यात्रु सेवाका हिसावले रेकर्ड रहनु पनि हो ।
विमानस्थलबाट हुने विभिन्न आन्तरिक गन्तव्यमा जाने यात्रुको संख्या पनि ४१ लाख ५० हजार ३२६ रहेको छ । यो संख्या गत वर्ष सन् २०२२ को तुलनामा ७.०७ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२३ मा ९६ हजार ९८९ उडानमार्फ काठमाडौं आउने र जाने आन्तरिक यात्रुको संख्या ४१ लाख नाघेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद