Media Network

दश वाणिज्य बैंकले गरे लाभांश घोषणा , कुन बैंकले कति दिदै छ लाभांश ?


खबरस्टोरी संवाददाता

८ मंसिर २०८०,शुक्रबार

काठमाडौँ।सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १० वटा बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । मङ्सिर ७ गते बिहीबारसम्ममा १० वटाले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

हालसम्म नबिल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सिटीजन्स बैंक र सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

लाभांश घोषणा गरेकामध्ये ६ वटा वाणिज्य बैंकले दशैंअघि नै साधारण सभा सम्पन्न गरेका थिए । सिद्धार्थ बैंकले मङ्सिर ५ गते मात्र सभा सम्पन्न गरेको छ । स्ट्याण्डर्ड चार्टर्डले मङ्सिर २४ गते आइतबार तथा ग्लोबल आइएमई बैंकले मङ्सिर २८ गते मंगलबार साधारण सभाको मिति तय गरेका छन् । साधारण सभा सम्पन्न गरेका बैंकहरुले सेयरधनीलाई डिम्याट खातामा उल्लेखित खातामा नगद लाभांश समेत पठाइसकेका छन् ।

२० वटा वाणिज्य बैंकहरूमध्ये १९ वटा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन् । राष्ट्रिय वाणिज्य बैंक भने सूचीकृत छैन । राष्ट्रिय वाणिज्य बैंक बाहेक अब सूचीकृत ९ बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

कुन बैंकले कति दिदै छ लाभांश ?

हालसम्म लाभांश घोषणा गरेका १० वाणिज्य बैंकहरूमध्ये एनआईसी एशिया बैंकले सबैभन्दा बढी कुल ३०.५२ प्रतिशत लाभांश दिएको छ । बैंकको असोज २८ गते सम्पन्न सभाले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । नगद मात्रै वितरण गर्ने प्रस्ताव गरेको बैंकले मङ्सिर २४ गते आइतबार साधारण सभा बोलाएको छ । यसैगरी एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०ं५३ प्रतिशत लाभांश असोज ३० गते पारित गरिसकेको छ । कार्तिक २ गते सभा सम्पन्न गरेको सानिमा बैंकले ९ प्रतिशत बोनस सेयर र करसहित ५.६० प्रतिशत गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गरेको छ ।

गत आवको नाफाबाट गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरी १४ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले असोज १८ गतेको साधारण सभा मार्फत लाभांश पारित गरिसकेको छ ।

त्यस्तै नबिल बैंक लिमिटेडले बिहीबार मात्रै चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पछिल्लो १२ वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ । यसैगरी नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई करसहित ६.८० प्रतिशत नगद लाभांश र ३.७५ प्रतिशत बोनस सेयर गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभा आह्वान भैसकेको छैन ।

साथै ग्लोबल आइएमई बैंकले सेयरधनीलाई कर सहित ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले यहि मङ्सिर २८ गते मंगलबार सभा बोलाएको छ ।

सिटिजन्स बैंकले गत आवको नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेका छ । बैंकले गत असोज २६ गते सभा सम्पन्न गरिसकेको छ । त्यसैगरी सिद्धार्थ बैंकले चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले मङ्सिर ५ गते साधारण सभा सम्पन्न गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद