Media Network

विप्रेषण विनियमावली, २०७९ लागु गर्न राष्ट्र बैंकको निर्देशन


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौं।राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ कार्यान्वयनमा ल्याएको छ । शुक्रबार सम्पुर्ण प्रादेशिक कार्यालयहरु, बिप्रेषण कारोबार गर्न अनुमतीप्राप्त कम्पनी, बिदेशी बिनिमय कारोबार गर्न अनुमतीपत्र प्राप्त सम्पुर्ण निकायहरु तथा अन्य निकायहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त बिनियमावली कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । 



नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को व्यवस्थाबमोजिम विप्रेषण कारोबारका लागि इजाजतपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था, विप्रेषण कारोबार गर्न इजाजतपत्र लिएका संस्थाहरूको काम तथा कर्तव्य सम्बन्धी व्यवस्था, इजाजतपत्रको नवीकरण, निलम्बन तथा खारेजी सम्बन्धी व्यवस्था, कसूर, दण्ड सजाय र कारबाही सम्बन्धी व्यवस्था र इजाजतप्रत्रप्राप्त विप्रेषण कम्पनीहरू एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्बन्धी व्यवस्था लगायत विप्रेषण कारोबार सम्बन्धी कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उप–दफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले देहायका विनियमहरू बनाएको हो । 

नियमावली अनुसार विप्रेषणको कारोबार गर्न निवेदन दिने निवेदक, शेयरधनी तथा पदाधिकारीको १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्ने छ भने मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने छ । यसबाहेक ऋण तिर्न नसकी साहूको दामासाहीमा नपरेको, बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको,  प्रचलित कानून बमोजिम कर तिर्नु पर्ने दायित्व भएमा त्यस्तो कर चुक्ता गरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवाको पदमा बहाल नरहेको, बैंक तथा वित्तीय संस्थासँगको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित नभएको, सम्पत्ति शुद्धीकरण सम्वन्धी मुद्धामा नपरेको व्यक्ति हुनुपर्ने छ । 

बिनियमावली अनुसार इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले प्रचलित कानून तथा सो अन्तर्गत राष्ट्र बैंकले समयसमयमा जारी गरेको परिपत्र, आदेश, निर्देशन, सूचना लगायत देहायका शर्तहरूको अधीनमा रही विदेशी मुद्रामा विप्रेषण नेपाल  भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफै वा आपूmद्वारा नियुक्त सब–एजेण्ट वा सब– रिप्रिजेन्टेटिभमार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ । विप्रेषणको कार्य गर्न इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले विदेशबाट अग्रिम भुक्तानीको रुपमा बैकिङ्ग प्रणाली मार्फत विप्रेषणको रकम विदेशी मुद्रामा नेपाल ल्याउनु पर्नेछ । विप्रेषणको रकम अग्रिम भुक्तानीको रुपमा प्राप्त नभई नेपालमा सम्बन्धित व्यक्तिलाई भुक्तानी दिएपछि शोधभर्नाको रुपमा रकम प्राप्त हुने अवस्थामा त्यस्तो रकमको जमानतका लागि भुक्तानी दिएको सम्पूर्ण रकमलाई खाम्ने गरी सम्बन्धित विदेशी फर्म, कम्पनी, संस्थाको तर्फबाट विदेशी बैंकबाट जारी भएको विदेशी मुद्राको कुनै पनि शर्त उल्लेख नभएको जमानत वा सम्बन्धित विदेशी फर्म, कम्पनी, वा संस्थाबाट विदेशी मुद्राको नगद धरौटी प्राप्त गरेको हुनुपर्नेछ । यसरी प्राप्त भएको जमानत र नगद धरौटीको रकमले खामेभन्दा बढी हुने गरी सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न पाइने छैन । विप्रेषण कम्पनीले विदेशी फर्म, कम्पनी वा संस्थाबाट केही रकम अग्रिम भुक्तानीको रुपमा र केही रकम बैंक जमानतको रुपमा समेत प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद