Media Network

वीरगञ्ज भन्सारबाट विद्युतीय मोटरसाइकल आयात बढ्दो


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

वीरगञ्ज। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउन महिनामा देशको मुख्य नाका वीरगञ्ज भन्सार नाका भएर विद्युतीय मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि भएको छ।

भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार साउन महिनामा यो नाका भएर आयात हुने विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रतिशतले बढेको हो।

यो महिनामा वीरगञ्ज नाका भएर कुल दुई करोड ८४ लाख ५९ हजार बराबरको २ सय ८१ वटा विद्युतीय मोटरसाइकल आयात भएको हो। यो गत आव २०७८/७९ को साउन महिनाको भन्दा २ सय ८५ प्रतिशतले बढी हो।

सो महिनामा यो नाका भएर ५६ लाख ६३ हजार बराबरको ७३ वटा मात्रै विद्युतीय मोटरसाइकल आयात भएको थियो।

सरकारले आगामी भदौ १४ गतेसम्मको लागि १५० सिसीभन्दा बढी क्षमता भएको मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउनुका कारणले पनि बितेको महिनामा विद्युतीय मोटरसाइकलको आयात बढेको जनाइएको छ।

देशमा विदेशी मुद्रा घट्दै गएपछि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गएको वैशाख १३ गतेदेखि २५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै आगामी भदौ १४ गतेसम्म १५० सिसीभन्दा माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाएको हो।

प्रतिबन्धपछि मोटरसाइकल आयात ६७ प्रतिशतले घटेको छ ।

सरकारले १५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा आगामी भदौ १४ गतेसम्म प्रतिबन्ध लगाएपछि वीरगञ्ज भन्सार नाका भएर साउन महिनामा मोटरसाइकलको आयातमा ६७ प्रतिशतले कमी आएको छ।

चालु आवको साउन महिनामा यस नाका भएर १७ करोड ६४ लाख १० हजार बराबरको जम्मा एक हजार ८४८ वटा मोटरसाइकल आयात गरिएको छ। जबकि प्रतिबन्ध नलागेको गत आवको साउन महिनामा वीरगञ्ज नाका भएर ४३ करोड १ लाख ४८ हजार बराबरको पाँच हजार ५५४ वटा मोटरसाइकल आयात भएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद