Media Network

वैदेशिक व्यापारमा गिरावट, दुई महिनाको व्यापार घाटा २ खर्ब ३३ अर्ब


खबरस्टोरी संवाददाता

७ आश्विन २०८०,आईतवार

काठमाडौँ।चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म आइपुग्दा वैदेशिक व्यापारको प्राय सूचक नकारात्मक रहेका छन् । भन्सार विभागका अनुसार भदौमा गत आवको तुलनामा आयात तथा निर्यात दुवै घट्दा वैदेशिक व्यापारमा गिरावट आएको छ ।

भदौसम्म अर्थात दुई महिनामा २ खर्ब ८६ अर्ब १९ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको यहि अवधिको तुलनामा वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको हो। अघिल्लो भदौसम्म ३ खर्ब २ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड बराबरको वस्तु आयात हुँदा २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको दुई महिनामा आयात २ खर्ब ७३ अर्ब ५९ करोड भन्दा बढीको थियो भने निर्यात २८ अर्ब ६८ करोड रुपैयाँको भएको थियो ।

आयात तथा निर्यातमा गिरावट आएपछि वैदेशिक व्यापारका साथै व्यापार घाटामा पनि गिरावट आएको छ । विभागको तथ्यांक अनुसार दुई महिनामा कुल व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यहि अवधिमा व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड थियो । गत आवको तुलनामा चालु आवको दुई महिनामा व्यापार घाटामा ४.७४ प्रतिशतले गिरावट देखिएको छ ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.२४ प्रतिशत र आयातको हिस्सा ९०.७६ प्रतिशत रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद