Media Network

विद्युतीय गाडीको आयात ४७.८६ प्रतिशतले घट्दा राजश्वमा धक्का !


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा २११ वटा विद्युतीय सवारी (कार, जिप र भ्यान) आयात भएको थियो । तर, चालु आर्थिक वर्ष २०८०÷८१ को सोही महिनामा भने आधाले घटेको  । भन्सार विभागका अनुसार चालु आवको साउन महिनामा विभिन्न तौल क्षमताका ११० वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । समक्षिा महिनामा ३४ करोड ६ लाख रुपैयाँ बराबरको गाडी आयात गरिएको हो । जुन, अघिल्लो वर्षको साउनको तुलनामा ४७.८६ प्रतिशतले कमी हो । तर,  गत वर्षको साउनमा भने ६२ करोड १६ लाख रुपैयाँ बराबरका विद्युतीय गाडी नेपाल आएका थिए ।

विशेष गरि बजार माग नभएकाले नै आयात घटेको व्यवसायीहरूको भनाई छ । ‘पछिल्लो समय नेपालमा विद्युतीय सवारी प्रति आम मानिसको आकर्षण बढ्दो नै छ, अन्य महिनाको तुलनामा साउन कम माग हुने गर्छ । त्यसले आयातको तथ्याङ्क घटेको देखिन सक्छ । तर, यसको बजार माग र आकर्षण उत्साहजनक नै छ’–एक व्यवसायीले भने । 

आयात घटेपछि सरकारले पाउने राजश्व पनि दोहोरो अङ्कले घटेको छ । चालु आवको पहिलो महिनामा विद्युतीय गाडी आयातबाट सरकारले १८ करोड २३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आयात घट्पछि राजश्व पनि स्वतः घट्ने गर्छ । अघिल्लो वर्षको साउनको तुलनामा विद्युतीय सवारी तर्फको राजश्व पनि १५.६१ प्रतिशतले घटेको हो । गत वर्षको समीक्षा महिनामा भने सरकारले २१ करोड ६१ लाख रुपैयाँ राजश्व उठेको थियो ।

नेपालमा छिमेकी दुई मुलुक भारत र चीन, अमेरिका र कोरियाबाट विद्युतीय सवारी आयात हुने गरेको छ । साउनमा अमेरिका र कोरियाबाट भने विद्युतीय सवारी आयात नभएको विभागले जनाएको छ । यी दुई मुलुकबाट २०० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमता सवारी आयात हुने गरेको छ।  
विभागका अनुसार चालु आवको पहिलो महिनामा चीनबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएको छ । सो मुलुकबाट २६ करोड ५५ लाख रुपैयाँ बराबरको ८३ थान गाडी आएको भएको हो । समीक्षा महिनामा भारतबाट भने साढे ७ करोड रुपैयाँ बराबरको २७ थान विद्युतीय सवारी नेपाल भित्रिएको छ । भारतबाट विशेषगरि टाटा ब्रान्डका विद्युतीय गाडी आउने गरेको छ । अर्को छिमेकी देश चीनबाट भने बीवाईडी, नेटा भी र एमजी जस्ता विश्व प्रसिद्ध ब्रान्डका विद्युतीय गाडी नेपाल आयात हुने गरेको छ ।

विभागका अनुसार साउनमा ५० किलोवाट तौल क्षमताका २१ थान सवारी आयात भएको छ । यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटका ८१ थान र १०१ देखि २०० किलोवाटसम्मका ५ वटा मात्र सवारी आयात भएको छ । त्यसैगरि २०१ देखि ३०० किलोवाट तौल क्षमताका ३ वटा विद्युतीय सवारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद