Media Network

यस्तो छ एनसेलको यथार्थता, आखिर किन बाहिरिन खोज्यो आजियाटा ?


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौं । एसियाको अग्रणी दूरसञ्चार ग्रुपको रहेको आजियाटा ग्रुप बहार्डले एनसेलको ८० प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको हो  ।

सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको  एनसेलबाट आजियाटा बाहिरिँदा यसले वैदेशिक लगानीका क्षेत्रमा कालान्तरमा प्रभाँव पार्ने आँकलन गरिएको छ ।

सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो ।  खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा । सन् २०१६ को अप्रिल १२  मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो ।

सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो ।


किन बाहिरियो आजियाटा

दूरसञ्चार प्राधिकरणबाट पाएको लाइसेन्सको म्याद सकिन ६ वर्ष बाँकी हुँदा एनसेलमा रहेको सेयर बिक्री गर्ने निष्कर्षमा अजियाटा समूह पुगेको छ। 

एनसेलले जीएसएम सेलुलर मोबाइल लाइसेन्स प्राधिकरणबाट २०६१ साल भदौ १६ गते पाएको थियो। एक पटकमा दिएको लाइसेन्सको म्याद अधिकतम २५ वर्ष हुने व्यवस्था रहेको छ। २५ वर्षको व्यवस्थालाई संशोधन गर्ने वा म्याद थप्ने कसरत भइरहेकै समयमा अजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने निष्कर्षमा पुगेको हो। 

२०६१ सालमा लाइसेन्स पाएदेखि पटकपटक खरिद बिक्री भएको यो लाइसेन्समा पछिल्लो सात वर्षदेखि अजियाटाको बहुमति होल्डिङ रहेको छ। पछिल्लो समय मोबाइल सेवाबाट हुने आम्दानी घट्दै गएको तथा नाफा पनि संकुचित हुँदै गएको छ।

दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुन्छ । २५ वर्षपछि ५० प्रतिशत भन्दा बढी विदेशी लगानी भएका कम्पनी पूर्णरुपमा सरकारी स्वामित्वमा आउने व्यवस्था ऐनमा छ । यसअनुसार सन् २००४ मा स्थापना भएको एनसेल अबको करिब ६ वर्षपछि सरकारी स्वामित्वमा आउनेछ ।

एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी छ । झन्झटबाट मुक्त हुन पनि आजियाटाले बाहिरिन खोजेको ठानिएको छ । अर्काे पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार घट्दै गएको छ । 

एनसेलले सन् २०२०÷२१ मा ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।  सन् २०२१÷२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२२÷२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सीम सब्सक्रिप्सनका आधारमा नेपालमा एनसेलको बजार हिस्सा ३८.०५ प्रतिशत छ । आजियाटाले सन् २०२७ सम्म अर्काे पुस्ताको डिजिटल च्याम्पियन बन्ने लक्ष्य रहेको उल्लेख गरेको छ ।

नेपालमा एनसेलबाहेक आजियाटाको मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंग्लादेश, कम्बोडिया र इन्डोनेसियामा पनि दूरसञ्चार कम्पनीमा लगानी रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद