Media Network

आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई फाइजर खोप लगाइँदै


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७८,आईतवार

काठमाडौं। आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई फाइजर खोप लगाइँदै छ। यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन लागेको हो। 

सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ ।  खोप केन्द्र तोकिएका ठाउँहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइनेछ। 

कसले लगाउने यो खोप?

– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी

– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति

– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी

– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी

– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी

– अंग प्रत्यारोपण गरेका व्यक्ति

– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी

– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति

– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति


कसले लगाउन मिल्दैन यो खोप?

फाइजर खोप सबैले लगाउन मिल्दैन। यो खोप लगाउन नहुने विभिन्न अवस्थाहरु छन्।

– कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएको 

– १२ वर्ष भन्दा कम उमेरको व्यक्ति

– खोप खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भए


यो सँगै इम्युनोग्लोबिन, मोनोकोनल एन्टीबडीज, कन्भेल्सेन्ट प्लाज्मा उपचारमा भएको व्यक्तिले यो खोप लगउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि भने खोप लगाउन मिल्ने महाशाखाले जनाएको छ। 

कोभिड-१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन नभएपनि निको भएको ३० दिनपछि यो खोप लगाउन मिल्छ। कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउन हुँदैन। तर यस प्रकारको अवस्था ठीक भएपछि भने खोप लगाउन मिल्छ। 

उपत्यकाको हकमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल,  सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल,पाटन अस्पताल,सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा यो खोप दिइने छ।  

त्यस्तै उपत्यका बाहिर मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पताल,  कोशी अस्पताल,  गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल,  धुलिखेल अस्पताल,  धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पतालमा यो खोप दिइने छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद