मन्त्री बस्नेतले भने, “आपत्काल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौं भने उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन ।” आपत्कालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तीमा पनि सम्भावित क्षेत्रमा खाद्यान र औषधि उपलब्ध गराउनका लागि सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले मन्त्रालयले आपत्कालीन अवस्थामा उपचारका लागि देशका २५ अस्पताललाई ‘हब अस्पताल’ बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले भने, “कुनै ठाउँमा सङ्कट आइपर्दा सबै एक ठाउँमा आएर सङ्कट व्यवस्थापन गर्न सक्षम छौँ ।” सातवटै प्रदेशमा आपत्कालीन सेवाकेन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले गरिरहेको डा सिंहले बताए । विश्वस्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले आपत्कालीन अवस्थामा उपचार सेवा नरोकियोस् भन्नेबारे ध्यान दिनुपर्नेमा जोड दिए ।