Media Network

भरतपुर आँखा अस्पतालमा बिरामीको घुइँचो


खबरस्टोरी संवाददाता

२२ श्रावण २०८०,सोमबार

भरतपुर।आँखा पाक्ने रोग फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या करिब दोब्बर बढेको छ। बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ।

चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार ३५७ जनाले सेवा लिएका थिए। अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामीछन्।

अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयमा एक हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गर्थे।

 बिरामी बढेसँगै औषधिसमेत अभाव हुन थालेको छ। औषधि खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधि आपूर्ति हुन नसकेको उनले बताए। अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिँदै आएको उनले जानकारी दिए। हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उनको भनाइ छ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले रोग लाग्नुभन्दा बच्नु नै उत्तम भएको भन्दै सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन आग्रह गरिन्। उनले समय–समयमा हात धुने, हातले आँखा नछुने, सङ्क्रमितबाट टाढै रहने सुझाव दिइन्। उनले चिकित्सकको परामर्शपछि मात्रै औषधि प्रयोग गर्नुपर्ने भन्दै उनले आफूखुशी औषधि किनेर प्रयोग नगर्न सुझाव दिइन्।

नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठले मुख्य अस्पताल, तीन वटा सेकेण्डरी आँखा अस्पताल र १४ आँखा उपचार केन्द्रमा बिरामीलाई सकेसम्म सहजरूपमा उपचारको व्यवस्था मिलाइएको बताए। सबै बिरामीलाई एकै पटकभन्दा फरकफरक समयमा आएमा उपचार सहज हुने उनको भनाइ छ। अस्पताल आसपासका बिरामी दिउँसो २ बजेपछिको समयमा अस्पताल आउँदा भीड कम हुने उनको भनाइ छ। सबैलाई सजगता अपनाउन उहाँले अपिल गरे।

संघका सचिव केशव अधिकारीले औषधि आपूर्ति गर्न सम्झौता गरेका कम्पनीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराउन नसके सम्झौता खारेज गरिने जानकारी दिँदै आपूर्तिका लागि लाग्न आग्रह गरिएको बताए। चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा दिन रोकिएको उनको भनाइ छ।

अन्य बिरामी फरक ठाउँमा सजगताका साथ उपचार गराइएको उनले बताए। जिल्लाका पालिकाले रोग फैलिएपछि शिक्षण संस्था बन्दसमेत गर्न थालेका छन्।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद