Media Network

डा. गोविन्द केसी र स्वास्थ्यमन्त्री बस्नेतबीच विवाद


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौं । अभियन्ता प्रा.डा. गोविन्द केसी र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतबीच विवाद चर्किएको हो । स्वास्थ्यमन्त्री बस्नेतले डा.केसीलाई गिरोहले सञ्चालन गरेको भनेपछि एकाएक विवाद सिर्जना भएको हो।

 चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई अनविज्ञ भन्दै तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी ठीक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए । स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा. केसीले आइतबार विज्ञप्ति मार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो ।  निजलाई तत्काल पदमुक्त गरियोस् ।’

यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा. केसीले लगाएका छन्। ‘स्वास्थ्यमन्त्रीको पद सम्हालेदेखि नै माफियाहरुको पक्षमा नग्नरुपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्’, डा.केसीले भनेका छन् ।

यस्तै, स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयास समेत नगरेको आरोप डा.केसीको छ । केसीलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाउँदै केसीले भनेका छन्, ‘यो राजनीतिक तथा सामाजिक अपराध हो ।’

यस्तै, केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् ।

 केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका थिए।

उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए । नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो ।

मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने पस्ताव गरेको बताए ।

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गरे ।

मन्त्री बस्नेतले भने, ‘अहिलेको हिसावले हो भने ५ वर्ष पछि यो देशमा डाक्टर र नर्स पाइँदैन । र, मेरो प्रश्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन । यो प्रश्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसार भर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाईरहेका छौं । सारा बर्बाद गरेका छौं । कोरा व्यक्तिलाई विदेश पठाएर । यसैकारण ठगिएका छन हाम्राहरु । बदनाम भएका छन् । आम्दानी राम्रो हुँदैन । तर हामीले योग्य, दक्ष मानिसहरु जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ । राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ । तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा ।’

मन्त्री बस्नेतले डा केसीले अनसन बस्छु भन्ने वितिकै डाक्टरहरु उनकै बचाउमा लाग्ने गरेको आरोप लगाए ।

मन्त्री बस्नेतले भने,‘नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ । किन हिँडेको भनेर मैले सोधे । साथीहरुले काम चाहीँ गल्ती थियो । तर हामी हिँड्नैप¥यो । अनि किन हिँड्या भनेको ? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ । कन्भिन्स गर्नुप¥यो नि । यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई संचालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईहरुलाई पनि कारबाही हुन्छ । म भएभने त्यो हुन्छ । नभए के हुन्छ मलाई थाहा छैन । तपाईका लागि लड्ने, तपाईका लागि भिड्ने अनि तपाईले साथ नदिएर हुन्छ ? त्यसकारण यो विषयमा मैले तपाईहरुलाई अनुरोध गरेँ ।’

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद