Media Network

नेपालमा भित्रियो मंकीपक्स भाइरस, यस्तो हुन्छ लक्षण ?


खबरस्टोरी संवाददाता

२ असार २०८०,शनिबार

काठमाडौं । नेपालमा मंकीपक्स भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको हो ।

एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो । उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार चिकित्सकको निगरानीमा रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ ।नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ ।चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् ।

मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर)बाट भाइरस सर्ने गर्छ ।

‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषतः अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।

चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हन् । यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ ।

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ ।


एमपक्स रोगबाट बच्ने उपाय

मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला–छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ ।

संक्रमितको दाग वा घाउलाई नछुने ।

संक्रमित व्यक्तिसँग चुम्बन, अँगालो र यौनसम्पर्क नगर्ने ।

मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।

संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।

संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।

साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने (विशेषगरी खाना खानुअघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि) ।

मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद