Media Network

सुरक्षा सामग्रीविनै घन्टौँ फोहोरसँग खेल्छन् पाँच सय मजदुर


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । सिसडोलबाट बन्चरेडाँडा फोहोर फाल्न सुरु भएसँगै फोहोर छुट्याउने पनि यतै सरेका छन् । फोहोर बन्चरेडाँडा सरेको मात्र छैन, मजदुरको दैनिकी र आनीबानी पनि यतै सरेका छन् । सिसडोलमा मजदुरले जसरी फोहोरको डंगुरमै भात खान्थे, खाजा खान्थे र विनासुरक्षा सामग्री काम गर्थे । अहिले बन्चरेडाँडा सरेपछि पनि अवस्था फरक छैन । 

फोहोरको थुप्रोमाथि नै बसेर आरु खाँदै गरेका सिर्जना नेपाली र पारु नेपाली यसकै उदाहरण हुन् । ‘भोक लागेपछि के गर्ने त ? अन्त पनि बसेर खाने ठाउँ छैन,’ सिर्जनाले भनिन् । नुवाकोट सिउडिनीका सिर्जना र पारुले फोहोर छुट्याउने काम थालेको दुई महिनाजति भयो । उनीहरू फोहोरसँग अभ्यस्त भइसकेका छन् । फोहोरमा बसेर खाना त खाएकै छन्, न मास्क लगाएका छन्, न त पन्जा नै ।

१० वर्ष भयो तिनपिप्लेकी धनमाया तामाङले फोहोरको डंगुरमा बसेर फोहोर छुट्याउन थालेको । उनको ६ जनाको परिवार यही फोहोर छुट्याउने काम गरेरै गुजारा गरिरहेका छन् । तर, परिवारका कसैले पनि फोहोर छुट्याउँदा मास्क र पन्जाजस्ता सामान्य सामग्रीसमेत प्रयोग गर्दैनन् । न उनीहरूलाई फोहोरबाट हुने संक्रमणबारे जानकारी नै छ । 

प्लास्टिकका बोतल संकलनका लागि बन्चरेडाँडामा दैनिक चार सय ८० जना मजदुरले काम गरिरहेका छन् । संक्रमणको समस्या कम गर्न केहीले पन्जा, बुट र मास्कको प्रयोग गरे पनि धेरैले प्रयोग गर्दैनन् । फोहोरको थुप्रोमै बसेर खाना खाने र घन्टौँसम्म काम गर्ने उनीहरूलाई कुनै न कुनै स्वास्थ्य समस्या देखिएको अहेव रेग्मी बताउँछिन्, आजको नयाँपत्रिका दैनिकले खबर छापेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद