Media Network

शिशु र आमा दुवैको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन


खबरस्टोरी संवाददाता

१३ मंसिर २०८०,बुधबार

काठमाडौँ।शल्यक्रियाबाट मृत शिशु जन्मिएसँगै उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि लमजुङ अस्पतालमा तनावग्रस्थ स्थितिको सिर्जना भएको छ।पीडित पक्षले बेंसीसहरस्थित लमजुङ अस्पताल, बेसीसहरमा बुधबार बिहानैदेखि प्रदर्शन गरेका हुन्।

पीडित पक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालमा नियमित जाँचमा रहेकी महिलालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो । पहिले साधारण अवस्थामा रहेको भनिएकोमा पछि एक्कासि शल्यक्रिया गर्नुपर्ने भनिएको र शल्यक्रिया गर्दा शिशु (छोरा) निकालिएको थियो । ‘शल्यक्रियापछि रगत रोकिएन । पाठेघर फुटेछ भनियो । छिटो ठूलो अस्पताल लैजाऔंभन्दा हेलिकप्टर बोलाउने हो भनियो, हेलिकप्टर आएन । चितवन अस्पताल पु¥याउँदा मान्छे नै रहेन,’ मृतकका एक जना आफन्तले भने ।

सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार पौने ६ बजेतिर बेंसीसहरबाट चितवन मेडिकल कलेज लगिएको थियो । उनलाई अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको आफन्तले बताए । पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी आमा दुवैको मृत्यु भएको आरोप लगाएका छन् । पीडितले शिशुको शव उठाएको छैन । मृतक सुत्केरीको शव पनि ल्याएर अस्पतालमै राखिएको छ ।

पीडित पक्षले अस्पतालमा प्रदर्शन गर्न थालेपछि बुधबार बिहान ११ बजेबाट अस्पताल व्यवस्थापन समिति अध्यक्ष, अस्पताल प्रशासन प्रमुख, मृतकका आफन्त, पीडितको स्थानीय तह मर्स्याङ्दी गाउँपालिका अध्यक्षलगायत छलफलमा जुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले अस्पतालमा भइरहेको छलफल वार्ता प्रशासनमा जुट्ने तयारी भइरहेको बताए । यस विषयमा अस्पतालले औपचारिक रूपमा केही बोलेको छैन ।अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । पीडित पक्षले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद