हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । सबै मृतकको सनाखत हुन सकेको छैन । पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् ।झण्डै १३ हजार घरमा क्षति भएको छ । दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
संघीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । एजेन्सी