Media Network

चीनका उच्च कूटनीतिज्ञ वाङ रुस पुगे


खबरस्टोरी संवाददाता

२ आश्विन २०८०,मंगलवार

काठमाडौँ।चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् । युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् ।

भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङ भ्रमणको निमन्त्रणा दिनका लागि मस्को पुगेका हुन् । उत्तर कोरियाली शासक किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी चेतावनीबीच सहकार्यको सम्झौता गर्न लागेको अवस्थामा वाङ त्यहाँ पुगेका हुन् ।

चीनको विदेश मन्त्रालयका अनुसार रणनीतिक सुरक्षा परमार्शका लागि वाङ चार दिने भ्रमणका लागि रूस पुगेका हुन् । रुसको विदेश मन्त्रालयले भने दुई विदेशमन्त्रीबीच युक्रेन युद्धबारे छलफल भएको बताएको छ । त्यस भेटको निष्कर्षबारे रुसी विदेश मन्त्रालयले भनेको छ, ‘रुसको हीत र यसको सहभागितालाई ध्यानमा नराखि गरिने संकट समाधानको प्रस्ताव व्यर्थ हो ।’

यस वर्षको सुरुआतमै युक्रेन भ्रमण गरेर वाङले शान्ति प्रस्ताव राखेका थिए । युक्रेन युद्ध अन्त्य गराएको अवस्थामा युरोपसँगको सम्बन्ध सुदृढ गराउन सकिने चिनियाँ दाउ छ । ‘रुससँग पनि सम्बन्ध नबिगार्ने गरी उसले शान्तिको प्रस्ताव अघि सारेको छ । शान्ति कायम गर्दै युरोपसँग सम्बन्ध सुदृढ गर्ने उसको दाउ छ,’ विश्लेषक रोरी डेनिल्सले भने ।

रुसले युक्रेनविरुद्ध युद्ध छेडेसँगै चीनले मस्कोलाइ आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । अमेरिकी जासुसी संयन्त्रले गत जुलाइमा प्रतिवेदन सार्वजनिक गर्दै भनेको थियो, ‘चीनले पश्चिमा प्रतिबन्धको कुनै असर नपर्ने हिसाबले रुसलाई आर्थिक देखि अन्य आवश्यक सहयोग गर्दै आएको छ ।’

त्यस प्रतिवेदनमा चीनले रुसी ऊर्जा निर्यात गरेको र आफ्नो मुद्रामा कारोबार गरेको जिकिर गरेको छ । चीनले भने त्यस्तो आरोपलाई नकार्दै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद