Media Network

सिक्किममा बाढी : २३ सैनिक बेपत्ता, हिमताल विस्फोटको आशंका


खबरस्टोरी संवाददाता

१७ आश्विन २०८०,बुधबार

काठमाडौं । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ ।

अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ ।

बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको हिस्सा समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको बताइएको छ ।

बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।

सिक्किममा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षासँगै हिमताल विस्फोट भएर पनि अचानक ठूलो बाढी आएको आँकलन गरिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार सिक्किमको लोनाक हिमताल विस्फोट भएर टिस्ता नदीमा ठूलो बाढी आएको अनुमान गरिएको छ । सिक्किममा अझैं पनि भारी वर्षाको चेतावनी रहेका कारण स्थिति जटिल रहने ठानिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद