Media Network

युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका


खबरस्टोरी संवाददाता

२२ आश्विन २०८०,सोमबार

काठमाडौं । अमेरिकाले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएको छ । शनिबार हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वका बीच अमेरिकाले इजरायललाई थप हतियार र गोलाबारुद समेत दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आक्रमण अभूतपूर्व र डरलाग्दो भएको बताएका छन् । इजरायलमा ज्यान गुमाउनेमा आफ्ना नागरिक भएको पुष्टि गर्नतर्फ समेत अमेरिकाले काम गरिरहेको छ ।

इजरायलले ७०० भन्दा बढी नागरिक मारिएको र १०० भन्दा बढीलाई अपहरण गरिएको बताएको छ । प्यालेस्टाइनतर्फ ४०० भन्दा बढी मानिस मारिएको बताइएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले यूएसएस गेराल्ड आर फोर्ड विमानवाहक, मिसाइल क्रुजर र चारवटा मिसाइल विनाशक–डिस्ट्रोयर इजरायलतर्फ गइरहेको र लडाकु विमानसमेत पठाइने बताएका छन् 

इजरायली सेनाले गाजाबाहिर सातदेखि आठ ठाउँमा हमास लडाकुविरुद्ध लडिरहेको बताएको छ । इजरायली सेनाका एक अधिकारीले रक्षात्मक स्थिति बनाउन अपेक्षा गरेभन्दा बढी समय लागिरहेको बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद