Media Network

भलिबल खेलमा लगातार तीन खेलाडी घाइते


खबरस्टोरी संवाददाता

१ कार्तिक २०७९,मंगलवार

पोखरा । नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशबीच जारी क्वाटरफाइनल खेल स्थगित भएको छ ।

क्वाटरफाइनलको तेश्रो खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिम एपीएफका खेलाडी रुपिन्द्र गैह्रे घाइते हुन पुगे । उनको खुट्टाको एंकल समस्या देखिएपछि उनलाई थप उपचारको लागि अस्पताल पठाइएको छ ।

त्यसलगत्तै, लुम्बिनीले खेल ५–५ को स्थितिमा पुर्‍यायो । बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए । उनको पनि एंकलमा नै चोट लागेको छ । लगत्तै एपिएफका टेकराज अवस्थी पनि घाइते हुन पुगे ।


लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल स्थगित भएको छ । दर्शकहरु र खेलाडीकै विरोधपछि बाँकी खेल म्याट झिकेर खेलाइने भएको छ ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल खेल पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् ।

नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको थियो ।

यसअघि पनि भलिबलका तीन खेलाडी घाइते भइसकेका थिए । उद्घाटनको दिन गण्डकी र वाग्मतीबीचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको छ । त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपीएफकै हेमन्त मल्ल घाइते भएका थिए । मल्ल अहिले ठिक भइसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद