Media Network

एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार


खबरस्टोरी संवाददाता

११ भाद्र २०८०,सोमबार

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल खेलेर फर्कँदै गरेको एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार गरिएको छ । स्थानीय प्रहरीले विपक्षी टोलीका समर्थकले इँटा प्रहार गरेको हुनसक्ने अनुमान गरेको छ । 
इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा एस्टन भिल्लाले बर्नलीलाई उसैको घरेलु मैदानमा ३—१ गोलले हराएको थियो । खेल जितेर फर्कँदै गरेका खेलाडीहरू चढेको बसमा इँटा प्रहार गरिएको थियो । इँटा प्रहारबाट बसको अगाडिको सिसा फुटेको समाचारमा जनाइएको छ । 
बर्नलीले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘यो निकै खेदजनक घटना हो । धन्य, घटनामा कसैलाई चोट लागेको छैन,’ बर्नलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बर्नलीले घटनाको छानबिन हुनुपर्ने माग पनि गरेको छ । 
स्थानीय प्रहरीका अनुसार, खेल सकिएलगत्तै सडकमा ट्राफिकको चाप बढेको थियो । एस्टन भिल्लाका खेलाडी चढेको बस पनि ट्राफिकमा फसेको थियो । त्यसैबेला खेलाडी चढेको बसमाथि इँटा प्रहार भएको थियो । ‘घटनामा कोही पनि गम्भीर रूपमा घाइते भएका छैनन्,’ प्रहरीले भनेको छ ।
जारी सिजनको लिगमा बर्नलीले हालसम्म दुई खेल खेलेको छ । बर्नलीले दुवै खेल घरेलु मैदानमा खेलेको हो । आफ्नो पहिलो खेलमा बर्नली बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । घरेलु मैदानमा दुवै खेलमा पराजित भएपछि बर्नलीका समर्थक आक्रोशित बनेका छन् । 
Share:
Reaction :
ताजा समाचार
खेलकुद