Media Network

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ४३ स्वर्ण


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

कास्की।नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य गरी कुल १ सय २९ पदक प्राप्त गरेको छ । 

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य गरी कुल १ सय २९ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य,  पुरूषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलबार भएको कुस्ती प्रतियोगितामा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक जितेका छन् । ९७ केजी तौल समूहमा उनले स्वर्ण जितेका हुन् । सोही प्रतियोगिता अन्तर्गत भागवत शाह तेली, गंगाराम चमार, धर्मेन्द्र प्रसाद यादव, रितेश प्रसाद यादव, सागर कुमार यादव, प्रियका धानुक मण्डल र संगिता पालले रजत जिते । यस्तै सुटिङ प्रतियोगिता अन्तर्गत पुरूष टिम एयर पेस्तोलमा नेपाल पुलिस क्लबका अनिल ठकुरी, सुकदेव चौधरी र मान बहादुर घलेले कास्य पदक प्राप्त गरे । सोही प्रतियोगिता अन्तर्गत मिक्स टिम राइफलमा नेपाल पुलिस क्लबका फुलमाया क्यापछाकी र धन बहादुर विकले कास्य पदक प्राप्त गरे भने महिला टिम ईभेन्टको एयर राईफलमा अस्मिता राई, फुलमाया क्यापछाकी र रत्नी कुमारी चौधरीले रजत पदक प्राप्त गरे । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले रजत पदक प्राप्त गरेको छ । यस्तै मंगलबार भएको कराते खेलमा नेपाल पुलिस क्लबका सबिना श्रेष्‍ठ र  जिया कार्कीले स्वर्ण पदक प्राप्त गरे भने साजन मोक्तानले कास्य पदक प्राप्त गरे । यस्तै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी सफ्ट टेनिस प्रतियोगिता अन्तर्गत डबल्सतर्फ नेपाल पुलिस क्लबका नौ बहादुर लुंगेली र कमल बहादुर भण्डारीले स्वर्ण पदक जितेका छन् । उनीहरूले १ नम्बर प्रदेशका युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५(३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । सोही प्रतियोगिता अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबकी बिष्णा भण्डारी र सिसम चन्दको जोडीले कास्य पदक प्राप्त गरे । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलबार भएको भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबका बिकास थापाले पुरूष ८१ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । उनले स्न्याचतर्फ ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार उठाउँदै स्वर्ण जितेका हुन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबकी जुनमाया छन्त्याल, पुजा कुमाल र तारादेवी पुनले स्वर्ण जिते भने राजलक्ष्मी थापाले रजत र ओम प्रकाश वैश्यले कास्य पदक प्राप्त गरे । यस्तै जुडोमा नेपाल पुलिस क्लबका उमेश मगर, ईन्द्र बहादुर श्रेष्‍ठ र मनिता प्रधान श्रेष्‍ठले स्वर्ण पदक प्राप्त गरेका छन् । सोही प्रतियोगितामा नेपाल पुलिस क्लबका सुदेश दोङले रजत तथा संजित डंगोल, दिल कुमारी छन्त्याल, सपना राई, सोनिया भट्ट र आश्विन पुलामी मगरले कास्य पदक प्राप्त गरे । 

यस्तै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा मंगलबार भएको तेक्वान्दो प्रतियोगितामा नेपाल पुलिस क्लबका सुस्मिता मोक्तान, गोबिन्द आले मगर र कवि अधिकारीले स्वर्ण जितेका छन् भने अन्जली तामाङले रजत पदक जितेकी छिन् ।  यस्तै एथलेटिक्सतर्फ म्याराथनमा नेपाल पुलिस क्लबकी रेखा बिष्‍टले कास्य पदक प्राप्त गरिन् ।  

यसैगरी पोखराको फिसटेल एकेडेमीमा मंगलबार भएको पौडी प्रतियोगिता अन्तर्गत ४०० मिटर मिक्स फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबका आर्य महर्जन, मेगन गुरुङ, गौरव लामा र संकर्षण बहादुर रघुवंशीले रजत पदक प्राप्त गरे । यस्तै महिलातर्फको १०० मिटर ब्रेष्टस्ट्रोकमा नेपाल पुलिस क्लबकी अदिप्सा वैधले कास्य पदक जित्न सफल भइन् । सोही प्रतियोगिता अन्तर्गत पुरूषतर्फ ५० मिटर फ्रिस्टायलमा संकर्षण बहादुर रघुवंशी र महिलातर्फ मेगन गुरुङले रजत पदक प्राप्त गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद