Media Network

पेनाल्टीमा आर्मीलाई पराजित गर्दै सातदोबाटो केपी ओली कपको फाइनलमा


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७९,सोमबार

काठमाडौं । त्रिभुवन आर्मी क्ल्बलाई पेनाल्टी सुटआउटमा ६–५ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आइतबार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएर रोकिएको दोस्रो हाफको खेल आज भएको थियो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टीमा नतिजा लिइएको थियो ।

सातदोबाटोको जितमा एकराज बुढाथोकी, पासाङ लामा, सुदिप गुरुङ, विलियम पोकु असिडु, अबदुल लातिफ अबुबाकरी र सुरज गुरुङले गोल गरेका थिए भने, दिपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

आर्मीका दिपक गुरुङ, नवयुग श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदाम्बे र टेक बहादुर बुठाथोकी गोल गर्न सफल भएका थिए । विकाश खवास र सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गर्दै टिमको जित सुनिश्चित गरे ।

जितसँगै सातदोबाटोले उपाधिका लागि आज हुने दोस्रो सेमिफाइनलको विजेता टिमसँग प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा फाइनल प्रवेशका लागि मछिन्द्र फुटबल क्लब र केपी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा पुलिसलाई पराजित गर्दै सातदोबाटोले सेमिफाइनल यात्रा तय गरेको थियो । आर्मी टाईब्रेकरमा न्यूरोड टिम९एनआरटी० लाई हराउँदै सेमिफाइनल पुगेको थियो । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेता टिमले पाँच लाख प्राप्त गर्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद