Media Network

प्रधानमन्त्री कप क्रिकेटमा विवाद, टस ढिला भएपछि ४० ओभरको खेल हुने


खबरस्टोरी संवाददाता

२६ कार्तिक २०७९,शनिबार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल विवादका कारण फाइनल खेल हुन ढिलाइ हुने भएको छ । त्रिभुवन आर्मीका बलर सोमपाल कामीलाई खेल्न दिने नदिने विषयामा विवाद हुँदा खेल ढिला हुन लागेको हो । 

आर्मीले १४ सदस्यीय टोलीमा ब्याट्सम्यान अनिल मण्डलको स्थानमा सोमपाललाई ‘प्लेइङ–११’ मा राखेपछि विवाद भएको हो । प्रतियोगिताको सुरुमा सोमपालको नाम आर्मीको टिममा थियो । तर, बीचमा डेंगी भएका कारण आर्मीले सोमपालको स्थानमा अनिललाई टिममा स्थान दिएको थियो । 

सोमपाल ठिक भएपछि भने आर्मीले सोमपाललाई खेलाउन लागेको हो । तर, एपीएफका कप्तान शरद भेषावकरले भने सोमपाललाई टिममा राख्ने हो भने आफूले नखेल्ने भन्दै टस गर्न नमानेपछि खेल सुरु हुन ढिला भएको हो । 

नियमित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्ने थियो । र खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो । तर, शरदले टस गर्न मानेनन् । शरदले म्याच रेफ्री बुद्धिबहादुर प्रधानसँग आर्मीले सोमपाललाई ‘प्लेइङ–११’ मा राख्न नपाउने माग गरेका थिए । त्यही विवाद लम्बिएको हो । 

‘‘आर्मीले सेमिफाइनलमै सोमपाललाई खेलाउन खोजेको थियो । तर, त्यतिबेला नियमानुसार २४ घण्टा नपुगेका कारण हामीले सेमिफाइनलमा सोमपाललाई खेल्न दिएनौँ । आज २४ घण्टा पूरा भइसकेको छ,’’ विवादबारे प्राविधिक कमिटीका संयोजक सञ्जय गुरुङले भने, ‘‘प्राविधिक कमिटीले पनि आर्मीको रिप्लेसमेन्ट प्रस्तावलाई स्वीकार गरिसकेको छ । तर, हाम्रो कमजोरी भनेको सूचना दिनमा ढिला भयो । हिजोको खेल धेरै लामो भयो । र विविध कारणवश सूचना दिनमा कमजोरी भयो । त्यसले विवाद सिर्जना भएको छ । अब, निर्धारित समयभन्दा ढिला भएका कारण पूरा ओभरको खेल सम्भव छैन ।’’

गुरुङले १०ः३० बजेसम्म खेल सुरु भएमा ४० ओभरको खेल हुने । आर्मीले खेलाउन पाउने अडान राखेको छ भने एपीएसफले खेलाउन नपाउने बताएको छ । 

आर्मीले सोमपाल कामीलाई पहिलो खेलमा एपीएफ क्लबविरुद्ध बुझाएको १४ खेलाडीको सूचीमा राखेको थियो । सुदूरपश्चिमविरुद्ध पनि सोमपाल अन्तिम–१४ मा थिए । मुलपानी क्रिकेट मैदानमा गण्डकीविरुद्ध भने आर्मीले सोमपालको स्थानमा अनिललाई खेलाएको थियो । 

त्यसपछि कर्णालीविरुद्ध र सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा पनि सोमपाल अन्तिम–१४ मा थिएनन् । आर्मीले सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । एपीएफले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । आर्मी पाँच संस्करणमा सबै फाइनल खेल्ने एक्लो टोली हो । एपीएफ दोस्रो संस्करण र आर्मी चौथो संस्करणको च्याम्पियन टोली हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद