Media Network

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७९,शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइमा नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने भन्दै उनले यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको थियो ।

धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटायो । लगतै राष्ट्रिय टिममा राख्यो र लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेल्यो । अर्को शृंखला खेल्न नेपाली टोली भोलि यूएई जाँदैछ ।

क्रिकेट संघले सन्दीपलाई पनि लैजान चाहेको थियो, तर अदालतको शर्तका कारण सम्भव थिएन । त्यसैले सन्दीप विदेश जाने अनुमति माग गर्दै सर्वोच्च गएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद