Media Network

श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा


खबरस्टोरी संवाददाता

२० कार्तिक २०७९,आईतवार

काठमाडौँ।श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। 

सिड्नीमा सम्पन्न सुपर १२ अन्तर्गत समूह १ को अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै रनरेटमा अष्ट्रेलियालाई पछि पार्दै इङ्ल्याण्ड अन्तिम चारमा पुगेको हो।

समूह १ बाट न्यूजिल्याण्ड, इङ्ल्याण्ड र अष्ट्रेलियाले समान ७/७ अंक जोडे पनि नेट रनरेट राम्रो भएको आधारमा न्यूजिल्याण्ड समूह विजेता हुँदा इङ्ल्याण्ड उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ। 

आयोजक राष्ट्र अष्ट्रेलिया रन रेटमा पछि पर्दै बाहिरिएको छ।

श्रीलंकाले दिएको १४२ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले ६ विकेट गुमाउँदै अन्तिम २ बल अगाडि पुरा गर्‍यो। 

उसका लागि एलेक्स हल्सले सर्वाधिक ४७ रन बनाउँदा बेन स्ट्रोकले नटआउट ४२ रन बनाए।  ओपनर तथा कप्तान जोश बटलर २८ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकाका लागि लाहिरू कुमारा,वानिन्दु हसरंगा र धनन्जयले २(२ विकेट लिए पनि हारबाट जोगाउन सकेनन्।


त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो।


उसका लागि ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए। यस्तै कुशल मेन्डिस १४ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाए।

धनन्जय डि सिल्भा ९ र चारिथ असलंका ८ रनमा आउट हुँदा भानुका राजपक्षेले २२ बलमा ३ चौकासहित २२ रन बनाए। दासुन शनका ३ र वानिन्दु हसरंगा ९ रनमा आउट भए।

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले सर्वाधिक ३ विकेट लिए। बेन स्टोक्स, क्रिस वोक्स, साम करन र आदिल राशिदले समान एक(एक विकेट लिए।

यो सँगै समूह २ बाट इङ्ल्याण्ड र न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्दा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, श्रीलंका, अफगानिस्तान र आयरल्याण्ड घर फर्किएका छन्।

समूह २ का सबै तीन खेल भोलि हुनेछ। जसबाट सेमिफाइनलमा पुग्ने अन्तिम २ टोलीको टुंगो लाग्नेछ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डको सामना गर्नेछ भने दोस्रो खेलमा बंगलादेश र पाकिस्तान तथा तेस्रो खेलमा भारत र जिम्बावे भिड्नेछन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद