Media Network

टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र पाकिस्तान भिड्दै


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०७९,बुधबार

काठमाडौं । टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र पाकिस्तान भिड्दैछन् । फरक–फरक विशेषताका दुई टोलीबीच को बलियो भनेर छुट्याउन कठिन छ।

पाकिस्तान सुपर १२ बाटै आउट हुने संघारमा थियो। सुपर १२ को प्रदर्शनका आधारमा न्यूजिल्याण्डको हात माथि देखिन्छ । प्रतियोगिताकै कमजोर टिम नेदरल्यान्ड्सले बलियो दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको भाग्य खुलेको हो । यता न्यूजिल्याण्ड भने उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेताका रुपमा टिममा स्थान बनाएको छ ।

पाकिस्तानको हकमा कुरा गर्दा धेरैले अहिले १९९२ को एकदिवसीय विश्वकपलाई सम्झिरहेका छन् । उक्त विश्वकपमा निकै खराब सुरुवात गरेको पाकिस्तानलाई भाग्यले साथ दिएपछि अन्ततः उपाधि नै चुम्न सफल भएको थियो । के यसपाली पाकिस्तानले त्यही इतिहास दोहो¥याउला रु समर्थकहरु यही आशामा छन् । तर, पाकिस्तानका लागि प्रतिकुलता धेरै छन् ।

यतिबेला पाकिस्तानको सबैभन्दा ठूलो टाउको दुखाइ भनेको ओपनिङ जोडीको खराब फर्म हो । बबर आजमको ब्याट सुपर १२ का पाँचवटै खेलमा नराम्रोसँग फ्लप भयो । सबै खेलको स्कोर जोड्दा पनि उनले अर्धसतक पुर्याउन सकेका छैनन् । चारवटा म्याचमा त उनी सिंगल डिजिट स्कोरमै आउट भए । त्यसैले आजको सेमिफाइनलमा उनी चरम दवावमा हुनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा कहिले पनि बबर यस्तो ‘स्कोरलेस’ स्थितिबाट गुज्रिएका थिएनन् । पाकिस्तानको हरेक सफलतामा सबैभन्दा ठूलो भूमिका उनकै रहने गरेको छ । टी–२० मा उनी लामो समय नम्बर एक वरियतामा थिए । तर, अहिले उनले वरियता मात्र होइन फर्म पनि गुमाएका छन् । सेमिफाइनल उनका लागि चुनौति र अवसर दुवै बनेको छ, आफ्नो फर्म फिर्ता ल्याउने अनि पाकिस्तानलाई फाइनलमा पुर्याउने ।

बबरसँगै अर्का ओपनर मोहम्मद रिजवानको पनि प्रदर्शन सन्तोषजनक छैन । उनी टी–२० क्रिकेटमा विश्वकै सबैभन्दा कन्सिस्टेन्ट ब्याट्सम्यानका रुपमा चिनिन्छन् । उनलाई टी–२० मा अर्धसतक हान्ने बानी नै परेको थियो । तर, यस विश्वकपमा उनले एउटा पनि अर्धसतक हान्न सकेका छैनन् । एउटा म्याचमा उनी ३९ रनमा आउट भए ।

बबर र रिजवान दुवैको साझा समस्या बनेको सुस्त ब्याटिङ हो । टी–२० मा पनि टेस्ट शैलीमा ब्याटिङ गरेको भनेर उनीहरुको आलोचना हुने गरेको छ । तर, उनीहरु दुवै आफ्नै शैलीमा खेल्दै पाकिस्तानलाई सफलता दिलाइरहेका छन् । पाकिस्तानको ब्याटिङ नै ओपनिङ जोडीमा निर्भर थियो । तर, यो विश्वकपमा मध्यक्रमले पाकिस्तानलाई जोगाइरहेको छ, जुन अनपेक्षित हो ।

सान मसुद, इफ्तिकार अहमद, मोहम्मद नवाज, मोहम्मद ह्यारिस र सदाव खानजस्ता लो प्रोफाइलका ब्याट्सम्यानले पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याएका हुन् ।

बलिङको कुरा गर्दा पाकिस्तान परम्परागतरुपमा नै बलियो मानिन्छ । यो विश्वकपमा पनि पाकिस्तानसँग धारिला बलरहरु छन्, जसले विपक्षी ब्याट्सम्यानहरुलाई आच्छुआच्छु पार्न सक्छन् । साइन अफ्रिदीले बंगलादेशविरुद्ध ४ विकेट लिँदै आफ्नो पुरानो लय समातेपछि पाकिस्तान उत्साहित छ ।

यता, न्यूजिल्यान्ड चाहिँ ब्याटिङ र बलिङ दुवैतर्फ सन्तुलित देखिन्छ । कागजमा हेर्दा न्यूजिल्यान्ड धेरै खतरनाक टिम होइन, तर मैदानमा चाहिँ यस टिमको प्रदर्शनमा सँधै एकरुपता पाइने गरेको छ । कप्तान केन विलियम्सनले टिमलाई बाँधेर राखेका छन् ।

यस विश्वकपमा न्यूजिल्याण्डका सबैभन्दा सफल ब्याट्सम्यान भने ग्लेन फिलिप्स हुन् । मध्यक्रममा ब्याटिङ गर्ने उनले न्यूजिल्याण्डका लागि सुपर १२ मन १९५ रन जोडेका छन् । कप्तान विलियम्सन आफ्नै अन्दाजमा खेलिरहेका छन् ।

बलिङमा न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट मुख्य हतियार हुन् । उनले सुरुमै आएर पाकिस्तानको आउट अफ फर्म रहेको ओपनिङ जोडीलाई अप्ठेरो पार्न सक्छन् । तर, यदि बाबर र रिजवान सेटल भए भने चाहिँ न्यूजिल्याण्ड आफैं अप्ठेरोमा पर्न सक्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद