Media Network

टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग स्तब्ध हारपछि दक्षिण अफ्रिका आउट


खबरस्टोरी संवाददाता

२० कार्तिक २०७९,आईतवार

काठमाडौं । यसपालिको टी–२० विश्वकपमा सबैभन्दा अनपेक्षित नतिजा निकाल्दै नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । समूह चरणको आफ्नो म्याचमा स्तब्ध परिणामसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो ।

सेमिफाइनलमा स्थान बनाउन आज दक्षिण अफ्रिकाका लागि जित्नै पर्ने दवाव थियो । नेदरल्यान्ड्सजस्तो कमजोर प्रतिद्वन्द्वीलाई दक्षिण अफ्रिकाले सहज जित निकाल्ने अपेक्षा थियो । तर, म्याचमा कसैले नसोचेको परिणाम आयो ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेदरल्यान्ड्सले ४ विकेट मात्र गुमाएर १५८ रनको बलियो स्कोर खडा गर्न सफल भयो । १५९ रनको विजयी लक्ष्य लिएको दक्षिण अफ्रिका ८ विकेट गुमाएर १४५ रनमै समेटियो ।

खेलको १५ औं ओभरसम्म दक्षिण अफ्रिका जिततर्फ उन्मूख देखिएको थियो । ६ विकेट हातमा रहँदा उसलाई जितका लागि ३० बलमा ४८ रन चाहिएको थियो । हेनरिच क्लासेन र डेभिड मिलरजस्ता ब्याट्सम्यान क्रिजमै थिए । तर, नेदरल्यान्ड्सका बलरहरुले कसिलो बलिङ गर्दै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रामा ब्रेक लगाइदिए ।

ब्रान्डेन ग्रोवरले १६ औं ओभरमा मिलरसहितको दुई विकेट लिएपछि खेलमा ट्विस्ट आएको हो । १७ औं ओभरमा क्लासेनपछि आउट भएपछि दक्षिण अफ्रिकाको आशा समाप्त भयो । अन्तिम दुई ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि ३६ रन चाहिएको थियो भने हातमा तीन विकेट थिए । अन्तिममा दक्षिण अफ्रिका १३ रनले पछाडि पर्यो ।

दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । रिलि रोसाउले सर्वाधिक २५ रन रिली रोसोउले २५ रन बनाए । नेदरल्यान्ड्सका कोलिन अकरम्यान म्यान अफ दि म्याच भए । उनले २६ बलमा ४१ रन बनाएका थिए । तर, म्याचमा सबैभन्दा निर्णायक भूमिका चाहिँ बलर ग्लोभरकै रह्यो । उनले महत्वपूर्ण ३ विकेट लिए ।

हारपछि दक्षिण अफ्रिका नेट रनरेटका आधारमा पाकिस्तानसँग पछि परेकाले विश्वकपबाटै आउट भएको छ । भारतले सेमिफाइनलमा स्थान निश्चित गरेको छ भने पाकिस्तान र बंगलादेशमध्ये एउटा टिम सेमिफाइनलमा जानेछन् । आजै हुने पाकिस्तान र बंगलादेशको अन्तिम म्याच नै ग्रुप २ बाट सेमिफाइनलको दोस्रो स्थानका लागि निर्णायक हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद