Media Network

न्यूजिल्यान्डमाथि सहज जित निकालेपछि पाकिस्तान फाइनलमा


खबरस्टोरी संवाददाता

२४ कार्तिक २०७९,बिहीबार

काठमाडौं । टी–२० विश्वकपमा आउट हुने डिलबाट आफूलाई जोगाएर पाकिस्तानले अन्ततः उपाधिकै लागि दाबेदारी प्रस्तुत गरेको छ । आज भएको सेमिफाइनलमा न्यूजिल्यान्डमाथि सहज जित निकालेपछि पाकिस्तान अब उपाधिबाट एक कदम मात्रै पछाडि रहेको हो ।

भोलि भारत र इङ्गल्यान्डबीचको दोस्रो सेमिफाइनलले फाइनलमा पाकिस्तानको प्रतिस्पर्धीको निधो गर्नेछ । धेरैले भारत–पाकिस्तानबीचको फाइनलको आशा गरेर मुख मिठ्याउन थालिसकेका छन् ।

पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउनका लागि उसको आफ्नो प्रदर्शन मात्रै पर्याप्त थिएन । भाग्यले साथ नदिएको भए यतिबेला पाकिस्तानी टिमका खेलाडीहरू घरमै बसेर टिभीमा सेमिफाइनल हेरिरहेका हुन्छ ।

नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि सनसनी जित निकालेपछि पाकिस्तानको भाग्य खुलेको हो । र, पाएको लाइफलाइन सदुपयोग गर्दै बङ्गलादेशमाथि पाकिस्तानले जित निकाल्यो र सेमिफाइनलमा सिट सुरक्षित गर्‍यो ।

आज भएको सेमिफाइनलमा पाकिस्तानका ओपनर जोडी मोहम्मद रिजवान र बाबर आजमको प्रमुख भूमिका रह्यो । यो जोडी सुपर १२ मा नराम्ररी फ्लप बनेको थियो । खासगरी कप्तान बाबरको खराब फर्मले पाकिस्तानी फ्यानहरू चिन्तामा थिए । आज अत्यन्त महत्त्वपूर्ण खेलमा बाबरले आफ्नो फर्म फिर्ता ल्याएका छन् । सुरुमै पाएको जीवनदानलाई सदुपयोग गर्दै बाबरले अर्ध शतक बनाए भने रिजवानसँग शतकीय साझेदारी गरे । रिजवानले पनि अर्धशतकको योगदान दिए । बाबर–रिजवानको जोडीले फेरि एकपटक पाकिस्तानी क्रिकेट समर्थकको शिर उठाएको छ ।

आजको म्याचमा जितको आधारशिला भने पाकिस्तानका बलरहरूले खडा गरेका थिए । उनीहरूले न्यूजिल्यान्डका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । प्रशस्त विकेट हातमा हुँदाहुँदै पनि न्यूजिल्यान्ड ठूलो स्कोर बनाउनबाट चुक्यो ।

पाकिस्तानका मुख्य हतियारका रूपमा रहेका साइन अफ्रिदी न्यूजिल्यान्डका ब्याट्सम्यानहरुमाथि हाबी भए । उनले पहिलो ओभरमा नै विकेट लिएर न्यूजिल्यान्डलाई दवावमा राखे भने कप्तान केन विलियम्सनको महत्त्वपूर्ण विकेट पनि चट्काए ।

न्यूजिल्यान्डका लागि ड्यारिल मिचेलले ५३ रन बनाउँदै १५१ रनको स्कोर खडा गर्न मद्दत गरेका थिए ।

यो स्कोर पाकिस्तानका लागि ‘ट्रिकी’ हुन सक्थ्यो यदि ओपनरहरू नचलेको भए । पाकिस्तानको मध्यक्रम त्यति भर पर्न लायक छैन । त्यसैले पहिलो इनिङ सकिँदासम्म म्याच ५०ः५० थियो । तर, दोस्रो इनिङमा पाकिस्तानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि न्यूजिल्यान्डले खेलमा फर्किने मौका नै पाएन ।

बाबर ४२ बलमा ५३ रन बनाएर आउट हुँदा पाकिस्तान जितको बाटोमा हिँडिसकेको थियो । रिजवान ४३ बलमा ५७ रन बनाएर आउट हुँदासम्म पाकिस्तानको जितको औपचारिकता मात्रै बाँकी थियो ।

विश्व क्रिकेटमा पाकिस्तान सबैभन्दा अस्थिर टिमको रूपमा चिनिन्छ । पाकिस्तानको प्रदर्शन कहिल्यै भर पर्न लायक हुँदैन । न त पाकिस्तानलाई कम आँक्न नै सकिन्छ । यो विश्वकपमा पनि पाकिस्तानले त्यही छवि प्रस्तुत गर्‍यो । जिम्बाबेजस्तो कमजोर टिमसँग हारेको पाकिस्तानले दक्षिण अफ्रिकाजस्तो बलियो टिममाथि जित दर्ता गर्‍यो । त्यही जित नै पाकिस्तानको लागि टर्निङ प्वाइन्ट साबित भएको छ ।

विश्वकपको फाइनलमा पुगेको पाकिस्तान अब उपाधि चुम्न आतुर छ । टी–२० विश्वकपको दोस्रो संस्करणमा पाकिस्तान विजेता बनेको थियो । त्यसयता उसले यो उपाधिमा हात लम्काउन सकेको छैन । यदि भारत–पाकिस्तानबीच फाइनल भयो र त्यसमा भारतलाई हराएर उपाधि जित्यो भने त्यो पाकिस्तानी समर्थकका निम्ति स्वर्णिम आनन्दको क्षण हुनेछ । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पनि भारत र पाकिस्तानबीच उपाधि भिडन्त भएको थियो । उक्त म्याचमा भारतसँग दुर्भाग्यपूर्ण हारको बदला लिन पाकिस्तानी टिम आतुर छ ।

उक्त हारको पिडा सायद पाकिस्तानी समर्थकले आजसम्म भुलेका छैनन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद