Media Network

वेष्ट इण्डिजले दियो नेपाललाई ३४० रनको विशाल लक्ष्य


खबरस्टोरी संवाददाता

७ असार २०८०,बिहीबार

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो ।

टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले ।

बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरे ।

सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे ।

गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्नै सकेनन् ।

यसअघि १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे ।

त्यसपछि सुरु भयो वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनको ब्याटिङ । यी दुवैले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारीसमेत गरे ।

४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए ।

पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए । ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए ।

होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए ।

सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

नेपालले आजको खेलमा सातजना बलर प्रयोग गरेको थियो ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद